संसारभर अनेक प्रकृतिका डरलाग्दा र खतरनाक अपराधहरू घटित भइरहेका छन् । अर्थतन्त्रमा अत्यन्त भयानक असर पार्ने एउटा गम्भीर अपराध हो– नक्कली नोटको कारोबार ।
नक्कली नोटको कारोबार एक त्यस्तो अपराध हो जसबाट लगभग विश्वका सबैजसो देश पीडित छन् । अझ हाम्रोजस्तो अविकसित एवं विकासोन्मुख देशमा यस्तो समस्याले थप संकट पैदा गर्दछ । यस खालको अपराधमा नेपालीहरूको समेत संलग्नता देखिएको छ । र, यो नेपालमा पनि धेरै मात्रामा हुने अपराधको श्रेणीमा पर्दछ । हालसालै पनि नेपाल प्रहरीले नक्कली नोट छाप्ने तीन जनालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका नयाँबस्तीबाट नियन्त्रणमा लिएको थियो । त्यसैगरी केही समय अघि चर्चित चलचित्र निर्माता माधव वाग्ले पनि आफ्नो घरमा नक्कली नोट राखेको हुनाले पक्राउ परेका थिए ।
मानिसको आपराधिक मनोवृत्ति पूर्णत: रोक्न त सकिदैन तर अंकुश लगाउन भने सकिन्छ । यस्तो प्रकृतिको अपराध रोक्न हरेक नागरिक सचेत हुन सके धेरै हदसम्म यो नियन्त्रणमा आउँछ ।
फेरि अर्को कुरा यसमा निर्दोष मानिसहरू फस्ने डर पनि उत्तिकै रहन्छ । नक्कली नोट कारोबार गरेको अभियोगमा सोझासादा व्यक्तिहरू समेत फसेका छन्, उनीहरू एकातिर ठगिएका छन्, अर्कातिर उनीहरूमाथि अनाहकमै अपराधीको बात लाग्ने गरेको छ ।
यो सबै समस्याको जड चेतनाको अभाव हो । सक्कली र नक्कली नोट छुट्याउन सकेको भए, कारोबार गर्दा सचेत हुन सकेको भए यसरी फस्ने सम्भावना धेरै हदसम्म कम हुने थियो ।
यहाँ हामीले सक्कली र नक्कली नोट कसरी पहिचान गर्न सकिन्छ भन्ने विषयमा केही जानकारी साझा गरेका छौँ । कस्तो छ त तरिका ?
१.सक्कली नोट कटनले बनेको हुन्छ । यो खस्रो र सारो हुन्छ तर नक्कली नोट चिप्लो र हातबाट सजिलै फुत्कने हुन्छ ।
२. सक्कली नोटको सेतो भागमा प्रकाश पारियो भने त्यसमा भएको लालीगुराँस प्रस्टसँग देखिन्छ तर नक्कली नोटमा त्यस्तो हुँदैन, नक्कली नोटको सेतो भागमा प्रकाश पारे पनि खाली देखिन्छ ।
३. सक्कली नोटमा आधा अक्षरमा एनआरबी लेखिएको हुन्छ जुन भागमा प्रकाश पर्दा स्पष्टसँग देखिन्छ तर नक्कली नोटमा त्यस्तो हुँदैन ।
४. सक्कली नोट कानको नजिकै लगेर हल्लाउँदा करक–करक आवाज आउँछ तर नक्कली नोटले त्यसो गर्दा कुनै पनि किसिमको आवाज निक्लँदैन ।
५. नक्कली नोट सक्कली नोटजत्तिको उज्यालो हुदैन । सक्कली नोटको रङ्ग सफा र गाढा हुन्छ भने नक्कली नोटको रङ्ग मधुरो र अस्पष्ट हुन्छ ।
६. सक्कली नोटको सुरक्षा धागो अर्थात सेक्युरेटी थ्रेडमा एन आर बी लेखिएको हुन्छ जुन प्रस्ट देखिन्छ तर नक्कली नोटमा भने त्यस्तो हुँदैन ।
७. सक्कली नोटमा एउटा विशेषता हुन्छ, यसलाई दुवै तर्फ हल्लाएर हेर्यो भन्ने यसमा विशेष खालको चमक देख्न सकिन्छ तर नक्कली नोटहरूलाई त्यसरी हल्लायो भने कुनै चमक देखिँदैन ।
८. बैंकहरूसँग नक्कली नोट पत्ता लाउने विशेष प्रविधि पनि हुन्छ । साधारण तरिका अपनाएर नक्कली र सक्कली नोटबीचको भिन्नता छुट्टयाउन सकिएन भने डिटेक्टर मेसिनको प्रयोग गरिन्छ । यो मेसिनले नक्कली नोट रीड गर्दैन अर्थात् त्यस्तो नोटलाई मेसिनले अस्वीकार गर्छ । त्यसैगरी नक्कली नोट अल्ट्रा भ्वाइलेन्ट लाइट र म्याग्निफाइङ टेक्नोलोजीको सहायताले पनि छुट्टयाउन सकिन्छ ।





























प्रतिक्रिया