बलात्कार-हत्या गरेर अमेरिका फरार, अमेरिकाले नेपाललाई बुझायो

बलात्कार-हत्या गरेर अमेरिका फरार, अमेरिकाले नेपाललाई बुझायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलात्कारपछि हत्या गरेर अमेरिका फरार भएका एक जना नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ । झापाको चन्द्रगढी ३ घर भइ अमेरिकामा बस्दै आएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो ।

गौतमलाई बुधबार अमेरिकी प्रहरीले नेपाल प्रहरीसमक्ष बुझाएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । गौतमलाई टर्किस एयरलाइन्सबाट काठमाडौं ल्याइएको थियो। सन् २०१८ फेब्रुअरी ३ मा पक्राउ परेका गौतमलाई अमेरिक प्रहरी हिरासतमा राखिएको थियो । गौतमलाई पक्रन नेपाल प्रहरीले इन्टरपोल गुहारेको थियो ।

अमेरिकाको अध्यागमन कानुनसमेत उल्लघंन गरेका उनलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि बुधबार नेपाल ल्याइएको हो । उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।

२०५७ साल असोज २९ गते राती गौतमसहित ३ जनाले झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीलाई सामूहिक बलात्कार गरेका थिए । उनीसहित मनोज खड्का र सिताराम खड्काले सामूहिक बलात्कार गर्दै राजवंशीको घाँटी थिचेर हत्या गरेका थिए।

हत्यापछि उनीहरूले राजवंशीको शव रूखमा झुण्डाएका थिए। घटनापछि मृतकका बुवा राजकुमार राजवंशीले ३ जनाविरूद्ध उजुरी दिएका थिए । उजुरीपछि पक्राउ परेका गौतमलाई २०५८ साल कात्तिक २१ गते जिल्ला अदालत झापाले सफाइ दिएको थियो।

जिल्लाको सफाइपछि मृतकका बुवाले पुनरावेदन गरेका थिए । पुनरावेदन अदालतले पनि जिल्ला अदालतको फैसला सदर गरेको थियो ।त्यसपछि मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन दिइएकोमा लिलाराजलाई सर्वोच्चले १९ वर्ष २ महिना जेल सजायको फैसला गरेको थियो ।

लिलाराज २०५७ कात्तिक १ देखि ०५८ साउन ३२ गतेसम्म हिरासतमा बसेको अवधि कट्टागरी सर्वोच्चले बाँकी कैद असुल गर्न आदेश दिएको थियो । सर्वोच्चले जन्मकैदको फैसला सुनाएका गौतम भारत हुँदै अमेरिका पुगेका थिए ।

Logo