तेह्र अध्यागमन अधिकृतविरुद्ध मुद्दा दायर

तेह्र अध्यागमन अधिकृतविरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतार लगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सघाउ पु¥याएको अभियोग उनीहरुमाथि आयोगले मुद्दा लगाएको छ ।

त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले कार्यालय समयमा रहेको अवस्थामा कम्प्युटरको नेटवर्क बन्द गरी शङ्कास्पद रुपमा दुई वटा मोबाइल फोनमार्फत लाइनमा रहेका महिला यात्रीलाई बोलाइ कागजातसमेत नहेरी प्रस्थान अनुमति दिएको आरोप छ ।

पराजुलीले प्रयोग गर्ने मोबाइल नम्बरको आधारमा प्राप्त हुन आएको ‘कल रेकर्ड’ तथा तथ्यहरु अध्ययन गर्दा उनले सोही कार्यालयमा कार्यरत अन्य अध्यागमन अधिकृतबीच ‘म्यासेज’ समेत आदानप्रदान गरेको र २४८ जनालाई प्रस्थान अनुमति दिने कार्यमा मिलेमतो गरेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

खाडी मुलुकमा घरेलु कामदार लगायत पेशामा जान चाहनेलाई अध्यागमन अधिकृत पराजुलीसमेतका व्यक्तिले विचौलियाको ‘सेटिङ’मा प्रतिव्यक्ति १० हजार लिई अनुमति दिएको आयोगका जिकिर छ ।

आयोगका अनुसार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरु मनहरि बराल, शैलेन्द्र केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, पद्मप्रसाद बजगाईं, वीरसिंह भण्डारी, कम्प्युटर अपरेटरद्वय रोशन गौतम र भोजप्रसाद न्यौपानेसमेतले अध्यागमन प्रणालीमा अभिलेख नराखी २४८ जनाको प्रतिव्यक्ति १० हजारका दरले २४ लाख ८० हजार बराबरको रकम उठाएको पाइएको आयोगको आरोपमा उल्लेख छ ।

उनीहरुविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको र अन्य संलग्न व्यक्ति माथिसमेत अनुसन्धान जारी रहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले बारागढी गाउँपालिका–३ बाराका जनजागृति राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक निर्माणका लागि सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पोखरेलले पदीय दायित्व निर्वाह नगरी एक लाख ३९ हजार ९६२ बढी भुक्तानी गरेको पाइएको छ । आयोगले सरकारी रकम हिनामिना गरी गैरकानुनी लाभ लिएको आरोपमा लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमनप्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर वसन्त निधि र सबइन्जिनियर दिलीपकुमार जैसवालविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रासस

Logo