काठमाडौं । १३ जना भन्दा बढी हत्या गरेको आरोप प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताब आलमले पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् ।
२०६८ चैत्र २८ गतेको निर्वाचनको पूर्व सन्ध्यामा बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरुलाई इँटाचट्टामा ज्युँदै पोलेर मारेको आरोपमा प्रहरी हिरासतमा रहेका आलमले पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका हुन् ।
पोलिग्राफ टेस्ट गर्न आलमको सहमति खोजेपनि अस्वीकार गरेको प्रहरीले जनाएको छ । घटनाबारे साँचो झूटो के बोल्यो भन्ने पत्ता लगाउन पोलिग्राफ परीक्षण गरिंदै आएको छ । त्यसको लागि आरोपितको सहमति लिनुपर्ने हुन्छ । तर उनले अस्वीकार गरेका हुन् ।
सरकारी वकील समक्षको बयान सकियोः
घटनाको १२ वर्षपछि गत असोज २६ गते आलम रौतहटबाटै पक्राउ परेका थिए । उनलाई सुरुमा ७ दिन र पछि पुनः ५ दिन म्याद थप गरेर हिरासतमै राखिएको छ ।
प्रहरीसँगको बयानमा आलमले कसुर अस्वीकार गरेका छन् । सरकारी वकील समक्षको बयान समेत सकिएको छ । बयानका क्रममा उनले १२ वर्ष अगाडि घटेको सो घटना घट्दै नघटेको दाबी गर्दै आएका छन् ।
यसक्रममा सोधिएका सबै प्रश्नमा आलमले इन्कारी बयान दिँदै आफूले घटनामा मारिएका र जाहेरीवालाहरूलाई चिन्दै नचिन्ने बताएको प्रहरीले जनाएको छ ।
रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अनुसन्धान छिट्टै टुंगोमा पुग्ने बताए । केही प्राविधिक पक्षको जाँच पूरा भएपछि रायसहितको प्रतिवेदन सरकारी वकीलको कार्यालयमा बुझाईने एसपी खत्रीको भनाई छ ।
प्रहरीले घटनामा मारिएका व्यक्तिको मोजा, गन्जी, घाइतेलाई इँटाभट्टासम्म पुर्याउन प्रयोग गरिएको ट्याक्टर तथा अन्य सबुत प्रमाण नियन्त्रणमा लिइसकेको जनाएको छ ।





























प्रतिक्रिया