कैलाली,
नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा बाला लागेको छैन । कैलाली–कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै गरिमा जातको धान रोपेका थिए । धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन्।
कैलाली–कञ्चनपुरमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ३ सय ४८ हेक्टरमा लगाएको गरिमा जातको धानले फसल (बाला) दिएको छैन । कञ्चनपुरमा ५६ दशमलव ८६ हेक्टर र कैलालीमा दुई सय ९१ हेक्टर जमिनमा गरिमा जातको धान रोपिएको थियो । गरिमा जातको धान खेती गरेका कञ्चनपुरका दुई सय २५ किसान र कैलालीका ९ सय ६४ किसान बाला नलागेपछि पीडित बनेका छन्।
गरिमा धान खेती गरेका कैलाली–कञ्चनपुरका एक हजार एक सय ८९ किसान पीडित बनेको जानकारी दिँदै कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीले भने, ‘गरिमा जातको धान खेतीका कारण यस वर्ष कैलाली–कञ्चनपुरका किसानले धोका पाए।’ गरिमा धानले धोका दिँदा कैलाली–कञ्चनपुरमा यस वर्ष १४ सय मेट्रिक टन धान उत्पादन कम हुने उनले बताए।
सुदूरपश्चिम प्रदेशलाई वार्षिक पाँच लाख ४३ हजार ४२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ। जसमध्ये सात लाख पाँच हजार ७ सय ६७ मेट्रिक टन अहिलेको उत्पादन छ। खाद्यान्नमा धान, गहुँ, जौं, कोदो र फाफर जोडिएको छ। यस्तै सुदूरपश्चिममा वार्षिक ६ लाख ८१ हजार ३ सय ५३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ भने यस वर्ष गरिमा धानका कारण १४ सय मेट्रिक टन कम हुने उनले बताए। ‘गरिमा धानका कारण सुदूरपश्चिम प्रदेशमा यो वर्ष १४ सय मेट्रिक टन कम धान उत्पादन हुने छ,’ उनले भने।
यता चितवनको खैरहनी नगरपालिका–११, पिद्रहनीका किसान कृष्ण लामाले अघिल्लो वर्ष १३ कठ्ठामा गरिमा जातको धान खेती गरेका थिए । असार दोस्रो साता रोपेको गरिमा जातको धानबालि उनले असोजमा भित्र्याएका थिए । उत्पादन पनि राम्रै भएपछि उनले यो वर्ष पनि गरिमा जातकै धान खेतमा रोपे । तर असार तेस्रो साता रोपेको धान पाक्ने बेला हुँदा पनि बालासम्म लागेको छैन ।
बाला नलागेपछि असोज ३० गते उनले मेसिन लगाएरै धानको हरियो बोट काटेका छन् । छिटो पाक्ने र उत्पादन पनि बढी हुने भन्दै यस वर्ष लगाएको गरिमा जातको धानबाट उनी नराम्ररी ठगिए । मज्जाले गाँजिएको धानमा बाल नलागेको गुनासो पूर्वी चितवनका किसानको छ । चितवनमा लगाएको धानमा बाला नलागेपछि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट असोज पहिलो साता विज्ञटोलीले स्थलगत निरीक्षणसमेत गरेका थियो।
नागरिकबाट































प्रतिक्रिया