राष्ट्रपतिदेखि मन्त्री सम्मको विदेश भ्रमण मोह

राष्ट्रपतिदेखि मन्त्री सम्मको विदेश भ्रमण मोह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

मितव्ययिता, सुशासन, स्वच्छताको अभियानमा जुटेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री विदेश भ्रमणमा रमाउन थालेका छन् । धेरै मन्त्री एकैपटक विदेश जाँदा मन्त्रालयका महत्वपूर्ण नीतिगत कार्यसमेत प्रभावित भइरहेका छन् ।

यतिबेला राष्ट्रपति , पाँच मन्त्री, दुई मुख्यमन्त्रीसहित सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू विदेश भ्रमणमा रहेका छन् । मन्त्रीकै विदेश भ्रमणले मितव्ययिता, सुशासन, स्वच्छता कायम गर्ने अभियानमा जुटेका प्रधानमन्त्री ओलीको सो अभियानसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेको भए पनि विदेश भ्रमण लगायतका कारणले लक्ष्यसम्म पुग्न समस्या उत्पन्न हुने गरेको अधिकारीको भनाइ छ । एकैपटक बहुसंख्यक मन्त्रीहरू मन्त्रालयको काम नगरी विदेश भ्रमणमा निस्केपछि मन्त्रालयको काम सुस्त बनेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल यतिबेला चीन भ्रमणमा रहेका छन् । चीनको विभिन्न सहरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन बिहीबार पोखरेल त्यसतर्फ लागेका हुन् । चीनको हुवेई प्रान्तको उहान र बेइजिङमा हुने कार्यक्रममा उनी सहभागी हुँदैछन् । विश्व सैन्य खेलकुद प्रतियोगितमा शुक्रबार सहभागी भएर पोखरेल आइतबार र सोमबार बेइजिङमा हुने अन्य कार्यक्रममा सहभागी हुने बताइएको छ । भूमि व्यवस्था तथा सहकारीमन्त्री पदमा अर्याल पनि चीन भ्रमणमै रहेकी छन् । नेकपा नेतृ पम्पा भुसालसँगै मन्त्री अर्याल बेईजिङमा आयोजना हुने कार्यक्रमका लागि चीन गएकी हुन् ।

यस्तै, छुट्टाछुट्टै कार्यक्रमका लागि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि चीनमै रहेका छन् । मुख्यमन्त्री पोखरेल चीनको चेन्दुमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेकपा नेतृ एवं मुख्यमन्त्री पोखरेलकी धर्मपत्नी सुजिता शाक्यसहित त्यसतर्फ गएका हुन् । बीआरआईको कार्यक्रममा सहभागी हुन उनी २७ असोजमा त्यसतर्फ लागेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँगै मुख्यमन्त्री शाही चीन पुगेका हुन् । यद्यपि, मन्त्री महासेठ बिहीबार स्वदेश फर्किएका छन् भने मुख्यमन्त्री शाही अझै चीनमै अन्य कार्यक्रका लागि रहेका छन् । शाही आइतबार स्वदेश फर्किने कार्यक्रम छ । उनी दुई दिन अझै चीनमा रहनेछन् ।

२८ असोजमा अमेरिका प्रस्थान गरेका अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक र मुद्राकोषको कार्यक्रम सहभागी छन् । त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएर उनी ६ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अर्का मन्त्री पनि म्यान्मारमा छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली म्यान्मारको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किने कार्यक्रम छ भने राष्ट्रपति उतैबाट जापान जाने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी जापानमा नयाँ सम्राटको राज्याभिषेक कार्यक्रम सहभागी हुन ३ कात्तिकमा म्यान्मारबाट जापानतर्फ जाने र ६ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी स्वदेश फर्किएसँगै ७ कात्तिकमा प्रधानमन्त्री ओली अजरबैजान जाने कार्यक्रम रहेको छ । असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री ज्ञवाली पनि जानेछन् । अजरबैजानको राजधानी वाँकुमा ८ र ९ कात्तिकमा आयोजना हुने शिखर सम्मेलनमा सहभागी भएर ओली नेतृत्वको टोली ११ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

नेताहरूको पनि भ्रमणको लर्को

संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री मात्रै नभई सत्तारूढ दल नेकपाका नेताहरू पनि चीन भ्रमणमा रहेका छन् । छुट्टाछुट्टै गरी नेकपाको दुई टोली अहिले चीनमा रहेका छन् । नेकपा स्थायी कमिटीका सदस्यहरू डा. बेदुराम भुसाल, देवेन्द्र पौडेल केन्द्रीय सदस्य एवं कार्यालय सचिव ईश्वरी रिजाल चीन गएका छन् । चीनको गोन्जाओ पुगेका उनीहरू चिनियाँ विदेश मन्त्रालयको आयोजनामा आयोजित कार्यक्रममा सहभागी भए । २७ असोजमा उनीहरूसहित सात देशका नेताहरू सो कार्यक्रममा सहभागी भएको बताइएको छ ।
राजधानीबाट

Logo