स्वास्थ्य विशेष : निरोगी जीवनका लागि २५ नियम

स्वास्थ्य विशेष : निरोगी जीवनका लागि २५ नियम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भनिन्छ, निरोगी जीवन बिताउन पाउनु आफैंमा एक सौभाग्य हो । तर, यसका लागि कामना गरेर मात्र पुग्दैन । आफ्नै जीवनशैलीलाई सन्तुलित बनाउन सक्नु पर्छ । स्वस्थ रहनका लागि ठूलो काम गर्नु पर्दैन । दैनिक जीवनमा गरिने स–साना कार्यमा विशेष ध्यान दिएर पनि स्वस्थ एवं निरोगी हुन सकिन्छ । सकेसम्म हामी बाँचुञ्जेल निरोगी रहन चाहन्छौं । तर, कसरी निरोगी जीवन बाँच्ने ?

रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित हुन्छ । यसका लागि हाम्रो जीवनशैली कस्तो छ भन्ने कुराले ठूलो महत्व राख्छ । निरोगी जीवन बाँच्नका लागि स्वस्थ, सन्तुलित र अनुशासित दिनचर्या, सुपाच्य खानपान, सक्रिय जीवन र सकारात्मक सोच अपरिहार्य हुन्छ । यसमा व्यक्तिगत सरसफाइदेखि खानपानको आनीबानीसम्म समेटिन्छन् ।

जीवनभर निरोगी रहन यसो गर्नुहोस् :
१. शारीरिक सरसफाइमा विशेष ध्यान दिऔं । हामीले गर्ने कुनै पनि काममा हातको प्रयोग बढी हुन्छ । साथसाथै खानेकुरा खान पनि हात नै प्रयोग गरिन्छ । त्यसैले हातको सफाइ सबैभन्दा धेरै गरौं ।

२. घरको सरसफाइसँग पनि हाम्रो स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ । घर फोहोर, दूषित, दुर्गन्धित छ भने हामीले जतिसुकै सरसफाइ खोजे पनि कुनै न कुनै प्रकारको समस्या आउन सक्छ । त्यसैले घरको भान्छा तथा शौचालयको सरसफाइमा विशेष ध्यान दिनु पर्छ ।

३. दैनिक योग गर्नुहोस् । शरीरलाई स्वस्थ एवं निरोगी राख्न योग निकै प्रभावकारी मानिन्छ । यसले शरीरमा स्फूर्ति जगाउनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।
४. भोजन गर्ने एउटा निश्चित समय निर्धारण गरौं र सोहि समयमा नै नियमित रुपमा खाना खाने बानी बसालौँ । खाना धेरै भोक लागेपछि मात्र खाने गरौं । भोक नलागी खाना खानु स्वास्थ्यका लागि उचित हुँदैन ।
५. निस्क्रिय नबस्ने । कुनै न कुनै रुपमा शरीरलाई सक्रिय राख्ने । घरायसी कामकाज सम्भव भएसम्म आफैँ ले गर्ने । यस्ता गतिविधिबाट शरीरलाई सक्रिय राख्न सकिन्छ ।
६. जति खाना खाँदा लागेको भोक शान्त हुन्छ त्यति मात्र खाना खाने गरौं । भोकले मागेको भन्दा कम खाँदा पेट शान्त हुँदैन भने कोचीकोची खाँदा पनि पाचनमा समस्या र श्वास फेर्न कठिन हुनुका साथै मोटोपन बढ्छ ।
७. खाना खाँदा स्वच्छ, सफा र शान्त ठाउँमा बसेर खाना खानु पर्दछ । यस्तै खाना खानु अघि राम्ररी साबुन पानीले हात धुनुपर्छ । यसले गर्दा हातमा रहेका किटाणुहरू नष्ट हुन्छन् ।
८. खाना खान प्रयोग गरिने थाल कचौरा चम्चा गिलास अम्खोरा जस्ता भाँडाकुँडा पनि राम्रोसँग सफा गरी सुकाउनु पर्दछ ।
९. खाना खाँदा एकाग्र भएर शान्त चित्तले खानु पर्दछ । यस्तै खाना खाँदा गाँसलाई राम्ररी चपाएर मात्र निल्नुपर्छ ।
१०. तारेको, धेरै चिल्लो, नून, अमिलो पिरो, भुटेको लगायत मरमसालाको प्रयोग अधिक भएको खानेकुराको सेवन कम गर्ने । त्यस्तै, पौष्टिक तत्वयुक्त खानाको सेवन, खानयोग्य वस्तुको मात्र सेवन गरौं तथा खानालाई छोपेर राखौं ।
११. सुतेर उठ्ने बित्तिकै खाना खानु हुँदैन । रातिको खाना सुत्नु भन्दा ३ घण्टा पूर्व नै खाने । यस्तै दुई भोजनहरुको बिचमा ५–६ घण्टाको अन्तराल हुन जरुरी हुन्छ ।
१२. चिन्तित, शोकाकुल, थकित, डराएको र हडबडको अवस्थामा भोजन गर्नु हुँदैन । भोजन सकभर मौनमा नै गर्दा राम्रो हो । भोजन गर्दा व्यापार, घरपरिवार राजनिती वा समाजका अन्य विषयहरुको बारेमा बोल्नु राम्रो हुँदैन ।
१३. बासी खानेकुराहरुको प्रयोग स्वास्थ्यको लागि कदापि राम्रो होइन । खाना आपैmंले बनाउनु उत्तम मानिन्छ । बनाएको ३ घण्टा भित्र खाइसक्नु पर्दछ ।
१४. बोटलबन्द, बट्टा, प्याकिङ्ग गरेर बेचिएका जंङ्क फुडहरुको सेवन गर्नु उपयुक्त हुदैन । जंङ्क फुड मुखको स्वादका लागि मात्र मिठो हो । यसमा क्यालोरी बाहेक खासै अन्य पौष्टिक तत्वहरु हुँदैन तसर्थ जंङ्क फुडको प्रयोग नगरौं ।
१५. घाँटीमा पीडा, पेटको गडबडी, पखाला चल्ने, पेट दुख्ने गरेको बेलामा पनि खाना नखाऔं । यस्तै पचाउन कठिन भोजनको सेवन पनि नगरौं ।
१६. खाना खाने बेला पानी नपिऔं । पानी खाना खाएको ३० मिनेट पहिले अथवा खाना खाएको १ घण्टासम्म नपिएको राम्रो हुन्छ । धेरै तातो र धेरै चिसो खानेकुरां खाँदा हाम्रो पाचनक्रियामा हानिकारक प्रभाव पर्ने हुँदा यस्तो खाना पनि खानु हुदैन ।
१७. सेता चिनी, मैदा, पालिस गरेको चामल र फाइबर झिकिएका÷हटाइएका प्रशोधित खानेकुरा नखाऔं । यस्तै चिया, कफी, बर्नभिटा, हर्लिक्स जस्ता पेयपदार्थ स्वास्थ्यका लागि राम्रो होइन । यी पेय पदार्थहरुको प्रयोग नगरौं ।
१८. कोकाकोला, पेप्सी, फ्यान्टा, मिरिन्टा, डिउ, स्प्राइट जस्ता कार्बोनेट्ड पेय पनि स्वास्थ्यको लागि अत्यन्त हानिकारक छ । यसर्थ यी पेयहरुको पनि प्रयोग सकेसम्म नगरौं ।
१९. हप्ताको एकदिन उपवास गर्ने बानी बसालौँ/उपवास बस्दा सकभर पर्याप्त पानी मात्र पिएर बस्ने गरौं । पानीमा मात्र उपवास बस्न नसके मौसम अनुसारको फलफूलको रसमा उपवास बस्ने गरौं ।
२०. खस्रो मोटा अन्नहरुलाई खानमा समावेश गरौं । कोदो, मकै, फापर, सामा, जुनेलो, जौ जस्ता खस्रा मोटा अन्नहरुमा यथेष्ट मात्रामा फाइबर (रेशार चोकर) र पूर्ण पोषक तत्वहरु पाइन्छ ।
२१. भोजन गर्दा टेलिभिजन हेर्ने, पत्रिका पढ्ने, रेडियो सुन्ने, फोनमा कुरा गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन । यस्तै खाना खाइसक्ने बित्तिकै शारीरिक एवम् मानसिक श्रम गर्दै नगरौं ।
२२. हामी स्वादको लागि बेमौसमी खानेकुरा रुचाउँछौं । तर, मौसम अनुकूल खानेकुराले नै हामीलाई स्वस्थ राख्ने हो । हरेक मौसममा फरक फरक किसिमको अन्न, सागसब्जी, फलफूल उत्पादन हुनेगर्छ । हामीले मौसम अनुकूल खानेकुरा नै खानुपर्छ ।
२३. मौसम अनुसारको सलाद सेवन गर्न सकिन्छ । काँक्रा, मुला, गाजर, चुकन्दरदेखि फलफूललाई समेत सलादको रुपमा सेवन गर्न सकिन्छ । सलादले पाचन यन्त्रलाई स्वस्थ र बलियो बनाउन सहयोग गर्छ ।
२४. खानामा दूध, दही लगायतको सेवन गरौं । यस्तै खानामा अनस्याचुरेटेड फ्याटको सेवन गर्ने गरौं । खानामा चिनी वा नुनको कम भन्दा कम प्रयोग गर्ने ।
२५. आफू सुत्ने वा आराम गर्ने कोठालाई खुला राख्ने ताकी त्यहाँबाट हावा भित्र छिर्न सकोस् । आफू सुत्ने तकीया, तन्ना तथा सिरक तथा पर्दाहरुको सरसफाई राम्ररी गर्नुका साथै ओछ्यानलाई बेलाबेलामा घाममा सुकाउने ।

Skip This
Skip This
Logo