दशैँ सकिए लगत्तै इन्धनको माग घट्यो

दशैँ सकिए लगत्तै इन्धनको माग घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

दशैँ सकिए लगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी , अष्टमीमा पेट्रोल, डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दशैँको अन्तिम दिन पूर्णिमासम्म माग घटेर २५ प्रतिशतमा झरेको छ । तर, तिहारसम्म इन्धनको माग वृद्धि भइरहने नेपाल आयल निगमले जनाएको छ ।

नेपाल आयल निगम थानकोट डिपोका प्रादेशिक प्रमुख बिनितमणी उपाध्यायका अनुसार इन्धनको माग गत सालभन्दा पेट्रोल १५ र डिजेल १० प्रतिशतले वृद्धि भएको छ । यो हरेक वर्ष वृद्धि हुँदै आएको प्रतिशत हो । जाडो मौसम सुरु भएकाले पनि इन्धनको माग बढ्ने प्रमुख उपाध्यायको भनाइ छ ।

उहाँले भन्नुभयो, दशैँमा झण्डै ४५ प्रतिशतले माग बढेको थियो तर हामीले सहज आपूर्ति ग¥यौं, आपूर्तिमा कुनै समस्या भएन, हामीले भण्डारण पनि योजनाबद्ध गरेका थियौँ, दशैँको दिनमा पनि आपूर्ति रोकिएन वितरण भयो, तिहारसम्म माग बढी नै रहन्छ ।

दशैँका अवसरमा यात्रुको चाप बढेपछि सवारी साधन बढी गुड्ने र बजारको चहलपहलले गर्दा माग बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ । सवारीको चापले गर्दा इन्धनको माग बढेको छ । दैनिक आठ लाख ५० हजार पेट्रोल र सोही परिमाणमै डिजेल बिक्री भएको थियो । माग बढे पनि बजारमा इन्धनको अभाव हुन नदिइएको गोइतले जानकारी दिनुभयो ।

दशैँ तिहारमा माग बढ्न सक्ने भएकाले निगमले पूर्ण क्षमतामा ४८ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरेको थियो । अझ केही दिन इन्धनको माग नघट्ने प्रमुख उपाध्यायको दाबी छ ।
गोरखापत्रबाट

Logo