दार्चुला,
जिल्लाको अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीले दशैँमा आउने आफन्तजनलाई स्याउ कोसेली दिने तयारी गर्नुभएको छ । बारीभरि लटरम्म फलेका स्याउ बिक्री गर्न बजार नपाएपछि घरमा आउने आफन्तलाई स्याउ कोसेली दिने तयारी गर्नुभएको हो ।
धामीले यस अघि दार्चुला सदरमुकाम खलङ्गामा भएको एक कार्यक्रममा झण्डै दुई सय दाना स्याउ निःशुल्क वितरण गर्नुभएको थियो । अपी हिमाल गाउँपालिकाबाट पिठ्यूँमा बोकेर ल्याएको स्याउको बजारीकरण होस् भन्नका लागि कार्यक्रममा स्याउ वितरण गर्नुभयो । तर सडक अभाव र बजार नहुँदा अहिले पनि उहाँको स्याउ बारीमै कुहिने अवस्थामा पुगेको छ ।
“खण्डेश्वरीमा स्याउको बजार छैन । सानो बजार छ, स्याउ कृषक धेरै छन् । स्याउ ग्रेडिङ गर्ने, स्याउ स्टोर गर्ने उपकरण छैन”, धामीले भन्नुभयो, “बारीमै कुहिन दिनुभन्दा आफन्तलाई स्याउ उपहारको रुपमा दिनु ठीक हुन्छ ।”
अपी हिमालको खण्डेश्वरीको पाथामा फलेको स्याउ बजार ल्याउनै समस्या छ । दुर्गम बस्तीमा यस्तो अर्गानिक स्याउ, प्रचारप्रसार र बजारीकरण आवश्यक रहेकामा कार्यक्रमका सहभागिले जोड दिए । तर अहिले पनि उहाँको मात्र नभई जिल्लाभरिका स्याउ कृषकले उत्पादन गरेका स्याउले बजार पाएका छैनन् ।
खण्डेश्वरीमै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन र ग्रामीण जलस्रोत परियोजना जीविकोपार्जन कार्यक्रम अन्तर्गत अपी हिमाल गाउँपालिका–३ र ४ मै हजारौँ बोट स्याउ खेती गरिएको छ ।
स्याउको बजार नपाउँदा कृषकहरुले स्याउलाई आफन्तलाई कोसेलीका रुपमा दिन थालेका छन् । पछिल्लो समय व्यावसायिक रुपमा स्याउ खेती गर्न थालेका यहाँका स्थानीयहरु बजार अभावमा समस्या झेल्दैछन् ।
हिमाली क्षेत्रका स्थानीयको अधिंकाश बबारीमा स्याउ लटरम्म फलेका छन् । तर बजार र सडकको पहुँचबाट टाढा भएकाले उनीहरुले बिक्री गरेर आर्थिक लाभ लिन भने सकेका छैनन् । “बजार र सडक नहुँदा आफन्तलाई स्याउ कोसेलीस्वरुप दिने गरेका छौं ”, कपुर धामीले भन्नुभयो, “चाडपर्वको बेला नजीकका आफन्तलाई स्याउ दिनु परेको छ । उहाँले आफ्नो बारीमा लगाएका डेढ सय बोटका स्याउ बिक्री नभएपछि कोसेलीका रुपमा दिँदै आउनु भएको छ । एउटा बोटमा सरदर २० किलोभन्दा बढी नै फल दिएको छ । गाउँसम्म न सडक पहुँच छ, न त बजार नै । जसका कारण उत्पादित स्याउबाट आम्दानी हुन नसकेको उहाँले बताउनुभयो ।
“जिल्लाको व्यास, अपी हिमाल, नौगाड, मार्मा, र दुहुँ गाउँपालिकामा स्याउ खेती हुँदै आएको छ । यी मध्ये अपी हिमाल र व्यासमा राम्रो स्याउ उत्पादन भएको छ । सडक पुगेको क्षेत्रमा स्याउ खासै फलेको छैन । थोरै सडक पहुँच नजीक पुगेका छौँ”, मार्मा–५ का स्याउ कृषक इन्द्रसिंह महताले बताए ।





























प्रतिक्रिया