काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । महराले आफुले लिँदै आएको सुरक्षाकर्मी र सरकारी गाडी फिर्ता गरेका हुन् ।
सभामुखको हैसियतमा रहँदा महराले चढ्दै आएको बा२झ १२६८ नम्बरको गाडी फिर्ता गरेका हुन् । त्यसैगरी उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी पनि फिर्ता गरेका हुन् । महराले आफु चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका हुन् ।
सरकारी निवास भने तत्काल नछोड्ने भएका छन् । डेरा पाएपछि मात्र सरकारी निवास छाड्ने महराको तयारी छ । महरामाथि संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीले बलात्कारको आरोप लगाएकी थिइन् ।
शाहीले सो आरोप लगाएको भिडियो सार्वजनिक भएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । यद्यपि शाहीले त्यसको भोलिपल्टै महराले यौन दुव्यर्वहार नगरेको भन्दै अर्को भिडियो सार्वजनिक भएको थियो ।
आइतबार राति आफ्नो कोठामा आएर मदिरा पिउँदै महराले आफुमाथि बलात्कार गरेको ती महिलाको आरोप थियो । सभामुखको सरकारी निवासबाट मदिरा नै बोकेर आएका महराले आफुलाई पनि मदिरा सेवन गर्न बाध्य पार्दै बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर घटना सार्वजनिक भएको ४८ घण्टामै ती महिलाले आफ्नो बोली फेरेकी थिइन् । मंगलबार उनले एक भिडियो मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महरा आफ्नो बुबा समान भएको प्रक्रिया दिएकी थिइन् ।
महिलाले आफ्नो बयान फेरे पनि महरा उनको कोठामा गएको प्रहरी अनुसन्धानले देखाएको छ । घटना भए वा नभएको भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धान नगर्न भन्दै ती महिलाले बुधबार प्रहरीमा उजुरी दिएकी थिइन् । तर प्रहरीले भने आफ्नो तर्फबाट अनुसन्धान भइरहेको जनाएको छ । यता घटना सार्वजनिक भएसँगै ती महिलाका श्रीमान डिभोर्स दिएका छन् । बिहीबार सामाजिक सञ्जाल मार्फत सहमतिमै डिभोर्स दिएको उल्लेख गरेका छन् ।
डिभोर्स गरेको सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् । धेरैले पीडित महिलामाथि पतिबाट पनि अन्याय भएको बताइरहेका छन् । भने केहीले श्रीमानको कदम ठीक भएको प्रतिक्रिया दिएका छन् ।





























प्रतिक्रिया