काठमाडौं,
नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरकारले सार्वजनिक शौचालय निर्माणमा तीव्रता दिने भएको छ । खुला दिसामुक्त राष्ट्र घोषणासँगै पूर्ण सरसफाइ अग्रसर बन्नका लागि सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने योजना बनाइने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।
सरसफाइको आधारभूत सूचक हासिल गरिएकाले अबको लक्ष्य पूर्ण सरसफाइ हासिल गर्ने रहेको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । अहिले सबै घरधुरीमा शौचालय निर्माण भइसकेकाले त्यसका लागि आवश्यक थप कुराहरुमा अबको चरणमा ध्यान दिने सरकारको योजना छ ।
दिगो विकास लक्ष्य (एसडिजी) लक्ष्य हासिल गर्न पनि नेपालले सन् २०३० सम्ममा पूर्ण सरसफाइ कार्यान्वयन गर्न आवश्यक छ । देशका विभिन्न स्थानमा शौचालय प्रयोगका विषयमा आशङ्का व्यक्त भइरहेकाले मन्त्रालयले यसको प्रयोगका बारेमा जनचेतना फैलाउने योजना बनाएको छ । भइरहेका शौचालयको गुणस्तर सुधारका काम पनि आगामी दिनमा गरिने प्रवक्ता शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको प्रयोग, शौचालयको सुधार लगायतका विषयमा ध्यान दिइनेछ ।”
सरकारले पाँच वर्ष पहिले खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने अभियान शुरु गरेको थियो । सरकारको लगानी नभई नै स्थानीयवासी स्वतःस्फूर्त रूपमा शौचालय निर्माणमा जुटेको प्रवक्ता शाक्यले बताउनुभयो । कतिपय स्थानमा शौचालयका बारेमा चेतना नहुँदा समस्या भए पनि त्यसका बारेमा जानकार भएर उनीहरु आफैँ निर्माणमा जुटेका थिए । खुला दिसामुक्त राष्ट्र घोषणा गर्न तराईका केही जिल्लामा कठिनाइ भएको तर स्थानीयवासीमा चेतना भएकाले स्वतःस्र्फूत रूपमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही गैरसरकारी संस्थाले जनचेतनाका लागि खर्च गरे पनि त्यसबाहेकको लगानी शौचालय निर्माण त्यसमा भएको पाइँदैन ।”
पूर्वराष्ट्रपति रामवरण यादवले खुला दिसामुक्त राष्ट्र निर्माणको अभियानको थालनी गर्नुभएको थियो । स्थानीय तह, जिल्ला हुँदै सातै वटा प्रदेश खुला दिसामुक्त घोषणा भएपछि सोमबार देश खुला दिसामुक्त राष्ट्र घोषणा भएको थियो । सरकारले २०६८ सालबाट खुला दिसामुक्त क्षेत्र घोषणा गर्न शुरु गरेको हो ।
वि.सं.०६९ मा कास्की नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो भने भोजपुर अन्तिम जिल्ला बनेको थियो । अहिले देशका झण्डै सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा तथा शौचालयको पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जनाएको छ । देशभर कूल ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया