प्याज लुकाउँदै व्यापारी, सीमापारी रोकिए प्याजका गाडी

प्याज लुकाउँदै व्यापारी, सीमापारी रोकिए प्याजका गाडी

केन्द्रबिन्दु
0
Shares

भैरहवा,

भारतले निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यापारीले प्याज लुकाउन थालेका छन् । भारत सरकारले आइतबारदेखि अर्को आदेश नहुञ्जेलसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार कालिमाटी बजारमा गरेको अनुगमनमा व्यापारीले मौकाको फाइदा उठाएर प्याज लुकाउन थालेको भेटिएको छ। विभागका अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार कालिमाटीस्थित अर्याल आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याज नभएको भन्दै ढाटेको फेला पारिएको छ ।

अनुगमन टोलीले उक्त सप्लायर्सको गोदाममा छापा मारेपछि दुई सय बोरा प्याज भण्डारण गरी राखिएको फेला परेको थियो।श्रेष्ठले भने, ‘सुरुमा गोदाम देखाउनै मानेन, गोदाममै छापा मारेपछि ठूलो परिमाणमा प्याजको बोरा भेटियो। भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले धमाधम प्याज लुकाउन थालेका छन् ।’

प्याज लुकाएको अभियोगमा उक्त सप्लायर्सलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको थियो। श्रेष्ठका अनुसार व्यापारीले फाइदा उठाउँदै एक दिनमै प्रतिकिलो प्याजमा ३० रुपैयाँ मूल्य थप गरेको अनुगमनका क्रममा फेला पारिएको छ।

सीमापारी रोकिए प्याजका गाडी

भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपाल आउन लागेका प्याजका गाडी सीमापारी रोकिएका छन्। भारतीय भन्सारले प्याज भन्सार विन्दुमा रोक लगाएको छ।

भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो। भारतमा प्याजको माग अनुसार आपूर्ति गर्न समस्या परेपछि भारतले निर्यातमा रोक लगाएको बताइएको छ। आइतबारदेखि बेलहिया नाकाबाट प्याज आयात नभएको भैरहवा भन्सार कार्यालयका अधिकृत यामबहादुर थापाले जानकारी दिए।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo