काठमाडौं ।
नेकपाको प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आजबाट सडक आन्दोलन सुरु गरेको छ । बिहीबार बसेको प्रचण्ड माधव पक्षको केन्द्रीय समिति बैठकको निर्णय अनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक आन्दोलनमा निस्किएका हुन् ।
यसैक्रममा आज १० बजेबाट नै माइतीघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर निर्वाचन आयोगमा जाँदैछन् । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफूहरुमै रहेको अवगत गराउने र निर्वाचन आयोगबाट सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ ।

आन्दोलनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् । प्रर्दशनमा सहभागी विघटित प्रतिनिधिसभाका सदस्यहरुले ‘हामी यहाँ छौं’ लेखेको प्लेकार्ड बोकेका छन् ।
यस समुहले पौष ७ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार समापन गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । बैठकले पार्टी संगठन र पार्टी एकतालाई कमजोर पार्न खोज्ने सबै प्रकारका प्रवृत्तिका विरुद्ध र संसद विघटनको विरुद्ध संघर्ष गर्ने उद्घोष गरेको हो । त्यसका लागि पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकले पौष १० गते बिहान साढे नौ बजे सबै केन्द्रीय सदस्य, सांसदहरू लगायतका नेताहरुको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे अनुसार आज प्रदर्शन गरेको हो । बैठकले आज दिउसो २ बजे अध्यक्षद्वयको तर्फबाट पत्रकार सम्मेलन गर्ने, पुष ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने र एक हप्ताभित्र प्रदेश समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
यस्तै पुष १२ गते ७७ जिल्लाहरूमा बैठक सञ्चालन गर्ने तथा जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न गरी पार्टीलाई सशक्त बनाउदै एकताविरुद्धका भ्रमलाई चिर्ने र कसरी संघर्षका कार्यक्रम अघि बढाउने भन्ने सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
बैठकले पुष १४ गते सम्पूर्ण जिल्लामा संसद विघटनको विरुद्धमा बिरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । पुष १४ गतेसम्ममा सबै जनवर्गिय संगठनहरुको केन्द्रीय बैठक तथा भेलाको आयोजना गर्ने, पुष २० गतेभित्र नगरपालिका र गाउँपालिकास्तरमा बैठक, भेला गर्ने र पुष २५ गतेभित्र सबै वडाहरूमा बैठक आयोजना गर्ने पनि प्रवक्ता श्रेष्ठले बताए ।
संघर्षको कार्यक्रमलाई व्यवस्थित बनाउन प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय केन्द्रीय संघर्ष समिति र उक्त समितिको सचिवालय पनि गठन गरेको छ ।
बैठकले स्थायी कमिटी सदस्यहरु तथा प्रदेश कमिटीका पदाधिकारीहरुलाई पार्टीको संघर्षको कार्यक्रममा सम्बन्धित प्रदेशमा जुट्न पनि निर्देशन दिएको छ । केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जिल्ला कमिटी र संगठनको कार्ययोजना र कार्य विभाजनको सम्बन्धमा स्थायी कमिटीले निर्णय लिन सक्ने अधिकार दिएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार पहिलो चरणको संघर्षको कार्यक्रम सकिएपछि अझै सशक्त र प्रभावकारी संर्घषका कार्यक्रम तय गर्ने प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको निर्णय छ ।































प्रतिक्रिया