काठमाडौंको चोक चोकमा राखिएको सालिकहरू नाम मात्रैका छन् (भिडियो सहित)

काठमाडौंको चोक चोकमा राखिएको सालिकहरू नाम मात्रैका छन् (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

  • ज्ञानमणि नेपाल कालोटोपी-

कुनै पनि निर्जीव वस्तु आफैंमा पूर्ण आकृति हुँदैन । त्यसमा विभिन्न सिप सिकेका व्यक्तिहरूको श्रम, सिप र समय खर्च भएपछि त्यसले पूर्णता पाउँछ । कुनै एउटा काठको टुक्राभित्र सिकर्मीले झ्याल–ढोका र विभिन्न जनावर तथा देवीदेवताको आकृति देख्छ । ढुङ्गा त्यसै सडकमा फालिएको हुन्छ । एउटा मूर्तिकारले त्यसमा राम्रो मूर्ति र सालिक देख्छ ।

फलामको टुक्रामा लोहार (फलामको काम गर्ने व्यक्ति ) ले हतियार, इञ्जिन वा दैनिक आवश्यकीय सामानको चित्र देखेको हुन्छ । त्यस्तै सुनार (सुनचाँदीको काम गर्ने) ले सुनचाँदीको टुक्रामा विभिन्न आकृतिका महङ्गा गरगहना देख्छ । यही देखाइले गर्दा नै ऊ भविष्यमा सफल बन्न सक्छ ।

हुने बिरुवाको चिल्लो पात

मूर्तिकार राजु कपालीको सानैदेिख मूर्ति बनाउने इच्छा थियो । मंगलबजारमा माटो किन्न पाइन्नथ्यो । ईन्द्रजात्रामा किनेको हात्तीको मूर्ति फुटेपछि फेरि त्यही माटोको मूर्र्ति बनाउँथे । वि.सं.२०३८ सालमा बागमतीको माटोबाट मूर्ति बनाउन थालेका उनी ती दिनहरू सम्झदा आफूलाई भाग्यमानी सम्झन्छन् ।

पाटन क्षेत्रमा हुर्केका कपाली पाटनमा देउताको मूर्ति बनाउने, सफा गर्ने माहोलले पनि आफू कला क्षेत्रतिर आकर्षित भएको बताउँछन् । कला क्षेत्रमा रुचि भएकाले नै उनले ललितकला पढे । वि.सं. ०५७ सालमा डिप्लोमा सके । त्यसपछि लगत्तै पढ्नुपथ्र्यो तर, नेपालमा मास्टर्स थिएन, भारतमा गई पढ्न उनले सकेनन् ।

वि.सं. २०५१ सालमा कलेज पढ्दा पढ्दै स्कुलमा ‘आर्ट टिचर’ भएर कपालीले आफूलाई चाहिने खर्च जुटाए । औपचारिक रूपमा पढ्नुभन्दा अघि उनी आफूलाई मुर्तिकलामा निकै जान्ने सोच्थे तर पढ्न सुरु गर्दा आफु जान्ने भएको भ्रम तोडियो । पढ्न अघि व्यावसायिक रूपमा मूर्तिकला गरेका उनले पढिसकेपछि आफ्नो मूर्तिकलामा गुणस्तर बढेको बताउँछन् । उनी ललितकलाको मास्टर्सको पहिलो ब्याजका विद्यार्थी हुन् ।

अहिले कपालीले गौतम महर्जन मिलेर मूर्ति बनाउने कार्यशाला खोलेका छन् । त्यहाँ उनीहरूले नेपाली इतिहासमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूको प्रतिमूर्ति बनाएका छन् । मूर्ति पत्थर, धातु वा माटोका बनाइन्छ । तर माटोका मुर्ति बनाउन मात्र सजिलो रहेको उनको अनुभव छ । फाइबर र सिमेन्टको मूर्ति २५ हजार रुपैयाँसम्ममा बनाउन सकिने कपाली बताउँछन् । त्यस्तै धातुको २४ इन्चको मूर्ति बनाउन ३ देखि साढे ३ लाख रुपैयाँ लाग्ने उनको भनाइ छ ।

प्रतिस्पर्धाबिनै सालिक बनाउन दिँदा देशकै बेइज्जत

सहरका चोकहरूमा राखिएका सालिकहरू देख्दा कपालीलाई हाँसो लाग्छ । कतिपयको सालिक आफै ठम्याउन नसकिएको बताउँदै उनी भन्छन्, ‘सालिक जीवन्त हुनुपर्छ तर यहाँ कसको सालिक भनेर छुट्याउनै सकिन्न ।’ काठमाडौंका चोक चोकमा राखिएको सालिकहरू नाम मात्रैको भएको उनी बताउँछन् । मूर्तिले स्वर निकालेर नबोले पनि त्यसको आकृतिले बोल्नुपर्ने उनी बताउँछन् । त्यसको आकृति हेरेर नै दर्शकले वास्तविकता पहिल्याउने उनको तर्क छ ।

राजधानीमा मनलाग्दी तरिकाले सालिकहरू ठडिनुमा सरकारी कार्यशैलीको कमजोरी रहेको उनको बुझाइ छ । सरकारले प्रतिस्पर्धा गरेर मात्रै सालिक बनाउन दिए यस्तो समस्या नहुने बताउँदै उनी भन्छन्, ‘सोर्सफोर्सका आधारमा सालिक बनाउन दिनु भएन, क्षमताको आधारमा काम दिनुपर्छ ।’ सुन्धारास्थित जंगबहादुर राणाको जस्तो सालिक बनाउनसक्ने नेपाली कोही पनि नभएको उनी भन्छन्, ‘सहिदगेटको र रत्नपार्कका मूर्ति समेत मिलेको छैन ।’ तिलगंगामा भएको बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौड्यालको त्रिमूर्तिले समेत यी तीन कवि भएको भाव नदिने भन्दै उनले भने, ‘हामीले बनाउने मूर्तिमा भाव प्रकट गराउन धेरै नै मेहेनत गर्नपर्ने बेला आएको छ ।’

आजभोलि ललितकला, सिर्जना कलेज अफ आर्ट्सअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा मूर्तिकालको पढाइ भइरहेको छ । तर प्रविधि र सरकारी प्राथमिकतामा नपर्दा अन्य देशको तुलनामा नेपालको मूर्तिकला निकै पछाडि परेको उनको बुझाइ छ । उनी आफै पनि लिच्छवीकालदेखि प्रयोग हुँदै आएको पुरानो प्रविधि प्रयोग गरी मूर्ति बनाउदै आएको स्वीकार्छन् ।

नेपालमा अहिलेसम्म जनावरको मूर्ति बनाउनसक्ने कोही नभएकोमा कपालीको दुखेसो छ । नेपालमा यस व्यवसायमा पनि अन्यमा जस्तै समस्याहरू छन् । मुर्तिकारहरू नै परस्परमा नमिल्ने समस्या पनि उस्तै छ ।

यस क्षेत्रमा आएका विविध समस्याको समाधानका लागि मूर्तिकलाको प्राविधिक ज्ञान सिक्नका लागि विदेशबाट मूर्तिकार झिकाउनुपर्ने उनको सुझाव छ । हाम्रो प्राचीन मूर्तिकला निकै राम्रो भए पनि अहिलेलाई त्यो पर्याप्त छैन । अहिलेको नयाँ पुस्तालाई पनि पहिलेभन्दा अहिले यस क्षेत्रमा सम्भावना राम्रो भएको छ । जसलाई यस क्षेत्रमा डुब्ने इच्छा छ उसलाई मात्र यसभित्र आउन उनको सुझाव छ । यही कामबाट पैसा कमाउने निकै कम सम्भावना भएकाले यसबाट पैसा कमाउने सोचले होइन, नाम कमाउने सोचले आउन कपालीले सुझाव दिएका छन् ।

मूर्ति बनाउदैमा भूत भइँदैन

मान्छेको मूर्ति बनाएपछि भूत भएर आउने आम मानसिकता छ । तर, कपाली भने उक्त मानसिकता गलत भएको बताउँछन् । मान्छेहरूमा फोटो खिचेपछि भूत बनिन्छ भन्ने मानसिकता समेत रहेको बताउँछन् । ‘अरुको त के कुरा मेरो बुबाले समेत भूत बन्नु पर्ला भनेर जीवनभर फोटो खिच्न मान्नुभएन ।’ उनले भने, ‘तर त्यसो होइन नाम चलेको व्यक्तिको मूर्ति, राजाहरूको मूर्ति बनाउने चलन परापूर्वकालदेखि नै सुरु भएको हो ।’ विदेशमा हरेकले घरघरमा आफ्नो प्रतिमूर्ति बनाएर सजाउने चलन रहेको भन्दै कपाली भन्छन्, ‘नेपालीहरू करोडौंको घर बनाउँछन् तर एउटा मूर्ति राख्न चाहँदैनन् ।’

भिडियो अन्तर्वार्ता 

 

यो पनि 

Logo