संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या भएको छ । वर्षाका कारण अरुण नदीमा पानीको बहाव बढेसँगै जीपको खोजी गर्न समस्या भएको हो । सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जीप गएराति १०ः३० बजे अरुण नदीमा खस्दा एउटै परिवारका तीन जनासहित ६ जना बेपत्ता भएका छन् ।
धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट ६ जना यात्रुसहित अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासाभाले जनाएको छ । घटनास्थल आसपास स्थानीय र प्रहरी पुगे पनि खोजी गर्न सक्ने अवस्था नरहेको प्रहरी निरीक्षक सन्तोषकुमार राईको भनाइ छ । अरुण नदीको दहमा खसेको जीप खोज्न गोताखारेको टोली मगाइएको प्रहरीले जनाएको छ ।
मौसम खराबीका कारण गोताखोरको टोली आउन पनि समस्या भएको उनको भनाइ छ ।संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ महिने बिरामी छोरालाई लिएर आउँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेर जीप धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा श्रेष्ठकी श्रीमती र छोरासहित ६ जना हराइरहेका छन् ।
वेपत्ता हुने अन्यमा श्रेष्ठको परिवारसहित गाडी चालक खाँदबारी नगरपालिका–९ सन्तोष विक, प्रमेश थापा मगर र खोटाङका खवरमान पिठ्ठाकोटे मगर रहेका छन् ।
धर्मदेवी नगरपालिकाका मेयर रमेश कुमार जिमिले तत्काल खोजी गर्ने सम्भावना कम रहेको बताए । अहिले पानी पर्ने क्रममा रोकिए पनि अरुण नदीमा अत्यधिक बाढीका कारण जीपको खोजी गर्न समस्या भएको उनको भनाइ छ ।
कुरिनटारबाट गोताखोर मगाएर खोजी गर्नेबारे प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी लगायतसँग छलफल भइरहेको भन्दै मेयर जिमिले भने, ‘बाटो पनि पुरै हिलाम्मे छ । भारी वर्षाका कारण समस्या भइरहेको छ । हामीले पहल गरिरहेका छौं ।’





























प्रतिक्रिया