उपचारको बाहानामा झाँक्रीले पेट चिरेर प्वाल पारिदिएका राजु मगरको सोमबार मृत्यु भएको छ।
धादिङ्गको नीलकण्ठ नगरपालिका वडा नं. ९ का ३९ वर्षीय मगरलाई भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो ।
दुई महिनादेखि जण्डिसको विरामी परेका मगरलाई सोही नगरपालिका ३ का गजबहादुर लामाले भदौ १५ गते पेट चिरेर रगत चुसिदिएका थिए । मगर झाँक्रीले निको पार्ने विश्वासमा लामाकोमा पुगेका थिए ।
उपचारको क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए । सोही बेला उपचारका लागि भनेर जण्डिस तानेको, औषधी दिएको र बिकार तानेको भनेर विरामीसँग ८ हजार ३८० रुपैयाँ रकम लिएर ब्लेटले देब्रेपटी पेटमा चिरेको विरामीकी श्रीमती विमलाले जानकारी दिइन् ।
झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । तर, काठमाडौँ नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर फिर्ता गरिदिएको थियो ।
लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका थिए । हाल उनी फरार रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया