काठमाडौं,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले पछिल्ला राजनीतिक घटनाका विषयमा गम्भीर छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको छलफलमा उहाँहरुबीच समसामयिक विषयमा गम्भीर छलफल भएको भेटमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।
काङ्ग्रेस सभापति देउवाको आग्रहमा बैठक भएको हो । समसामयिक विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको मन्त्री ढकालले जानकारी दिनुभयो । झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयक लगायतका विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात नेकपा कार्यकर्ताले भाँचेको भन्दै दोषीमाथि कारवाही हुनुपर्ने, नागरिकताको विधेयकमा संविधानका धारा ६ उल्लेख अनुसार जानुपर्ने विषय उठान भएको उहाँले बताउनुभयो ।
नागरिकता विधेयकसँगै अरु विधेयक राष्ट्रिय सहमतिबाट टुङ्गो लगाउनुपर्ने र देशमा सुशासन कायम हुनुपर्ने काङ्ग्रेसले धारणा राखेको प्रवक्ता शर्माले बताउनुभयो । बैठकमा नेपाली काङ्ग्रेसबाट सभापति देउवा र वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशाङ्क कोइराला, प्रवक्ता शर्मालगायत नेताहरु र नेकपाका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र मन्त्री ढकाल सहभागी हुनुहुन्थ्यो ।
रासस





























प्रतिक्रिया