उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन् ।
टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने बताए । उपप्रधानमन्त्री पोखरेलले विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरीद ऐन बाधक रहेको बताए ।
स्थानीय नागरिकले अपनत्व बोध गर्न नसके विकासका योजना अलपत्र पर्नसक्ने बताउँदै प्रत्यक्ष रेखदेख र निगरानी गरेमा योजना दीर्घकालीनरुपमा टिकाउ हुने उनको भनाइ थियो ।
पोखरेलले विकास निर्माणका काममा बाधा अवरोध गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने औँल्याउँदै विकासको नाममा कोही पनि विस्थापित हुन नहुने बताए । “कतिपय ठाउँमा विकासका योजना सम्पन्न गर्नका लागि जग्गा नदिएर अत्तो थाप्ने काम गरिएको हुन्छ”, उनले भने “विकासका पूर्वाधार तयार भएपछि ठाउँको महत्व बढ्ने हुँदा अवरोध गर्न खोज्नु हुँदैन ।”
कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँको एकीकृत विकासका लागि महानगरले विशेष योजना तय गर्न लागेको बताए । उनले महानगरमा विकासले गति लिइरहेको भन्दै थुप्रै योजना निर्माणाधीन अवस्थामा रहेकाले अबको केही समयमा विकासको अनुभूति मिल्ने बताए ।





























प्रतिक्रिया