दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् । विकज नेकपा दाेलखा जिल्ला अध्यक्ष तथा तामाकाेसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका छोरा हुन् ।
घाइते दुवैको अवस्था सामान्य रहेको र सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा१९च ४३९० नम्बरको कार गएराति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा बाढीले बगाएको थियो । अविरल वर्षासँगै खोला बढेकाले घटना भएको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार मृतकको शव परीक्षणका लागि चरिकोट अस्पताल ल्याइएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको छ । रासस





























प्रतिक्रिया