नेकपाको विवाद : प्रवासी नेपाली एकता मञ्च कतारमा सल्कियो विभाजनको आगो

नेकपाको विवाद : प्रवासी नेपाली एकता मञ्च कतारमा सल्कियो विभाजनको आगो

केन्द्रबिन्दु
0
Shares

कतार।

नेपाल कम्युनिस्ट पार्टी विभाजनको असर तल्ला निकायहरूमा पर्न थालेको छ । कतै लुछाचुँडी सुरु भैसकेको छ भने कतै कसले पहिला पार्टी कार्यालय कब्जा गर्ने भन्ने होडबाजी सुरु भएको छ । यस्तो विषम परिस्थितिमा पार्टी विभाजनको प्रभाव वैदेशिक शाखाहरूमा पनि देखिनु स्वाभाविक हो । खास गरी खाडी मुलुकमा श्रम गर्न गएका श्रमिकहरू र खाडीमा व्यवसाय गर्दै आइरहेका गैर आवासीय नेपालीहरू नेकपाको विभाजनसँगै विभाजित अवस्थामा पुगेको देखिन्छ । हिजो मिलेर एउटै पार्टीभित्र गोलबद्ध भएका नेपालीहरू अहिले आरोप प्रत्यारोपमा उत्रिएको पनि देख्न सकिन्छ।

यसै विषयलाई मध्यनजर राख्दै हामीले खाडी मुलुक कतारमा रहेका नेकपाका नेताहरूलाई तपाईँ अब कुन समूहको पक्षमा लाग्नुहुन्छ? भनेर प्रश्न गरेका थियौँ –हेरौँ उनीहरूको जवाफ।

चानक पोखरेल, अध्यक्ष प्रवासी नेपाली एकता मञ्च कतार

नेपाली कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गरेको विधि भनेको ‘जनताको बहुदलीय जनवाद’ हो । यो त्यही सिद्धान्त हो जसले देशभरि छरिएर टुक्रिएर झुन्ड झुन्डमा रहेका कम्युनिस्ट समूहहरूलाई एकत्रित गरेर ‘नेपाल कम्युनिस्ट पार्टी-एकीकृत मार्क्सवादी-लेलिनवादी’ को मूलधारमा समाहित गरेको थियो । स्वर्गीय मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त नै नेपाली कम्युनिजमको मूल धार हो । “जवज” लाई मान्दैनौँ भन्नु कम्युनिस्ट होइनौँ भने सरह हो।

पार्टी एकीकरणका लागि जवज र अर्को एउटा सिद्धान्त दुबैलाई बिसाउने या बिर्सने प्रपञ्च भएको थियो । नेकपा एमाले र माके एकीकरणका लागि केही समय जवजको बेवास्ता पनि गर्नुपर्ने अवस्था आइपरेको थियो तर कम्युनिस्ट आन्दोलनको आत्मा मानिएको जवजलाई छोडेर गरिएको एकता टिकाउ हुन सकेन -यही आजको ध्रुव सत्य कुरा हो । कम्युनिस्ट आन्दोलनको एक कार्यकर्ता भएको नाताले अबको बाटो भनेको जुन नेतृत्वले जबज अङ्गीकार गर्छ उही नेतृत्वलाई सच्चा कार्यकर्ताले साथ दिनु पर्दछ । जवजलाई आधिकारिक सिद्धान्त घोषणा गर्ने समूह नै नेपाली मूलधारको कम्युनिस्ट पार्टी हुनेछ र हामीजस्ता तमाम कार्यकर्ताहरू पनि जवजको छाता मुनी गोलबद्ध हुनेछौँ।

जवजद्वारा निर्दिष्ट नेकपा एमालेको चुनाव चिन्ह सूर्य हुनेछ र तमाम कम्युनिस्ट साथीहरूले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । कम्युनिस्ट आन्दोलन व्यक्तिमुखी होइन सिद्धान्तमुखी हुनुपर्दछ त्यसले मात्र जनताको मन जित्न सक्दछ भन्ने मेरो ठहर रहेको छ । मुद्दा अझै पनि विचाराधीन छ/रोकौँ पर्खौँ र हेरौँ -जसले जनताको बहुदलीय जनवाद हाम्रो मूल सिद्धान्त हो भनेर घोषणा गर्दछ उसलाई मेरो समर्थन रहनेछ।

रमेश भट्ट, सल्लाहकार- प्रवासी नेपाली एकता मञ्च (पूर्व अध्यक्ष, नेकपा माके कतार शाखा)

नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न सिद्धान्तमा आधारित रहेर अगाडि बढ्दै आइरहेका थिए । नेपालमा कम्युनिस्ट आन्दोलन जन जनसम्म पुर्यावउने काम गरेको भनेको ‘प्रचण्ड पथ- अर्थात् एक्काइसौँ शताब्दीको जनवाद’ ले नै हो तर आज प्रचण्ड पथको औचित्य कति छ भनेर मूल्याङ्कन गर्ने समय होइन न जनताको बहुदलीय जनवादको चर्चा गर्ने नै समय हो । हामीहरूले यी दुवै सिद्धान्तले एउटा पूर्ण कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न अपुग भएका कारण जवज र प्रचण्ड पथ दुवैको संयोजनबाट ‘एकीकृत कम्युनिस्ट आन्दोलन’ अगाडि बढाउने र संसारकै नमुना कम्युनिस्ट पार्टी बनाउने एजेन्डाका साथ अगाडि बढेका थियौँ जसलाई हामीले ‘जनताको जनवाद’ भन्यौँ । समय सधैँ उस्तै नरहने रहेछ । लिखितरूपमा गरिएका सम्झौताहरूमा अडिग नरहने, गरिएका वाचाहरू लाई कार्यान्वयन नगर्ने, एकलौटीरूपमा सत्तामा हालीमुहाली गर्ने, नियुक्ति र ठेक्कापट्टामा मात्र रुचि राख्ने केही नेतृत्वको रहरका कारण पार्टी एकता सङ्कटमा परेको हो । सरकार पार्टीको निर्देशन अनुसार चल्नुपर्छ । सरकारमा रहनेले पार्टीको विधि र पद्धतिलाई शिरोधार्य गर्नु पर्दछ र बहुमतीय निर्णयको सम्मान गर्नु पर्दछ भन्ने कुरालाई सरकारमा रहेकाहरूले नमानेको देखियो।

त्यसैले विधि र पद्धतिमा चल्न चाहने कार्यकर्ताले बहुमतको कदर गर्नु पर्दछ । जता बहुमत हुन्छ त्यही पक्ष संस्थापन पक्ष हो र सच्चा कार्यकर्ता सधैँ संस्थापनको पक्षमा रहनु पर्दछ । आजको अवस्थामा प्रचण्ड माधवकुमार कमरेडहरूको समूहसँग अत्याधिक बहुमत सदस्य सङ्ख्या रहेका कारण त्यही समूह मूलधार हो त्यही समूह संस्थापन समूह हो सच्चा कम्युनिस्ट कार्यकर्ता जो कम्युनिस्ट आन्दोलनलाई साँच्चै सम्मान गर्दछ उसले मूल्य मान्यता र बहुमतको कदर गर्नै पर्छ त्यसैले मेरो समर्थन प्रचण्ड माधव कमरेड समूहलाई रहन्छ।

होमनाथ शर्मा: पूर्वअध्यक्ष जन प्रगतिशील मञ्च कतार, सल्लाहकार, प्रवासी नेपाली एकता मञ्च कतार

नेकपा फुटको सङ्घारमा पुग्नु भनेको नेपाली राजनीतिका लागि नै दुर्भाग्यको कुरा हो । जनताका धेरै आकाङ्क्षाहरू माथि घात भएको छ । देशवासीलाई देखाइएका सपनाहरूको निर्ममतापूर्वक हत्या गरिएको छ । जसले पार्टी एकता बलियो बनाएर लैजानु पर्ने थियो जसले सबैलाई मिलाएर लैजानु पर्ने थियो उही स्वेच्छाचारी भइदिनाले यो अवस्था आइपरेको हो । राष्ट्रवादीको मुकुन्डो लगाएर ‘रअ’ का एजेन्टहरूसँग सम्झौता गर्ने, पार्टीको निर्देशनलाई रद्दीको टोकरीमा फाल्ने, आफैँले बैठकमा गरेका निर्णय कार्यान्वयन नगर्ने इत्यादि कारण प्रधानमन्त्री ओली पार्टीभित्र एक्लिँदै गएको पक्का हो ।

नेकपाको विधिले त्यस किसिमको राज्य सञ्चालन परिकल्पना गरेको थिएन । सामूहिक नेतृत्वमा सञ्चालन भएको पार्टीको सरकार एकलौटी रूपमा चलाउने र अन्य आफू सरहका नेतृत्वको अस्तित्व नै स्वीकार नगर्ने, नेपालको संविधानले परिकल्पनै नगरेको संसद् नै भङ्ग गर्ने जस्तो अहङ्कार केपी ओलीमा विकसित हुँदै गएपछि पार्टीले केपी ओलीमाथि अनुशासनको कारबाही गरेको हो । पार्टी फुटेको जस्तो देखिए पनि ओली समूह अत्यधिक अल्पमतमा रहेको छ त्यसैले यसलाई ‘कारबाही’ कै रूपमा हेर्दा उचित हुन्छ।

जबरजस्ती विधि विपरीत गएर देश भरिका कार्यकर्तालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै आफ्नो बहुमत सिद्ध गर्ने जुन हत्कण्डा ओली समूहले अपनाएको छ त्यो झन् हास्यास्पद देखिन्छ । आजको नेकपाको संस्थापन या मूलधार जे भने पनि प्रचण्ड माधव कमरेड समूह नै हो र मेरो त्यही मूल धारलाई समर्थन रहनेछ।

प्रभात त्रिपाठी, पूर्वमहासचिव, प्रवासी नेपाली मञ्च कतार

संस्थापन पक्ष कुन समूह हुनेछ भन्नेमा कुनै शङ्का राख्नु हुँदैन । विधि पूर्वक थप हुनुभएका केन्द्रीय सदस्यहरूको बहुमत केपी ओली समूहसँग रहेको छ र बहुमतीय पद्धतिको आधारमा यही समूह आधिकारिक संस्थापन समूह हो र आधिकारिक नेकपा हो । हामी प्रवासमा रहेका कार्यकर्ताले कुन पक्षलाई साथ दिने भन्ने निर्णय गर्नु अगाडि पार्टीको आधिकारिकता को सँग छ त्यसलाई बुझ्नु महत्त्वपूर्ण हुन्छ।

मिडियाले चलाइदिएको हल्लाका भरमा केपी ओलीसँग आधिकारिकता छैन भन्ने बुझ्नु गलत हुनेछ । केपी ओलीले मिडिया हाउस रिझाउन नसकेको पक्कै हो । मूलधार भनिएका पत्रिका र केही पत्रकारले केपी ओलीको बढ्दो लोकप्रियता पचाउन नसकेको पनि सत्य हो । आज जति पनि समाचारहरूले केपी ओली नेकपामा अल्पमतमा छन् भनेर लेखिरहेका छन् तिनीहरूलाई ‘भर पेट’ पार्टी प्यालेसमा खुवाउन नसक्नु वा त्यता ध्यान नदिनु केपी ओलीका कमजोरीहरू हुन् । त्यसैले पत्रिकाहरूले लेखिदिएको भरमा ओली समूह अल्पमतमा छ भनेर भन्न मिल्दैन । ओली समूह आधिकारिक नेकपा हो।

ओली समूह नै आधिकारिक नेकपा हो भन्ने कुरालाई प्रचण्डका केही अभिव्यक्तिहरूले पनि पुष्टि गरेका छन् । सुरुदेखि नै प्रचण्ड जुन पार्टीमा गए त्यो पार्टी विघटन नै भएको इतिहास रहेको छ । अब नेकपालाई पनि विघटनतर्फ लगेर एकलौटी रूपमा पार्टी र सरकार कब्जा गर्ने उहाँको रणनीति विधि सम्मत हुन सक्दैन । त्यसैले प्रचण्ड र माधव कमरेडको समूहको नियतमै खोट देखिन्छ । अहिले केपी ओलीले विधि सम्मत थप गर्नुभएका केन्द्रीय सदस्यहरू मध्ये बहुमत सदस्यहरूको समर्थन केपी ओलीलाई रहेको अनुसार प्रचण्ड समूह अल्पमतमा छ । प्रवासमा रहेर पनि नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेको म जस्ता कम्युनिस्ट कार्यकर्ताहरूले मूल धारलाई समर्थन गर्नु पर्दछ र त्यो मूलधार भनेको ओली समूह नै हो।

मोहन कार्की पूर्वअध्यक्ष, जन प्रगतिशील मञ्च कतार, सचिव प्रवासी नेपाली एकता मञ्च कतार

नेकपाको फुट भनेको नेपाली राजनैतिक इतिहासको सबैभन्दा दुखद अवस्था हो । हामी त राष्ट्रघाती महाकाली सन्धिको विरुद्ध सडकमा ओर्लिएर राष्ट्रियताको पक्षमा आन्दोलन गरेका कार्यकर्ता हौँ । खोक्रो राष्ट्रवादको मुखौटो लगाएर देश र जनतालाई भ्रममा राख्नेहरूसँग यो भन्दा बढी आशा गर्न सकिँदैन थियो । आज आम कार्यकर्ता कसको पक्षमा लाग्ने भन्ने प्रश्नमा मेरो स्पष्ट धारणा रहेको छ ।

जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एकीकृत गरेर त्यसै मार्फत ‘जनताको जनवाद’ को आधारशिला निर्माण गरिएको थियो । समय निकै तेज रूपमा बगिरहेको छ । जनताको जनवादकै आधारमा सरकारमा पुग्ने अनि सरकारमा पुगेपछि विधि र पद्धतिलाई लत्त्याउने, अराजक हुँदै जाने पार्टी निर्देशनलाई सम्मान नगर्ने र आफैँलाई पार्टीको सर्वेसर्वा ठानेर केन्द्रीय समितिका निर्णयलाई समेत लत्त्याउने अवस्था आइपुगेपछि पार्टी फुट्ने अवस्थामा पुगेको हो । आज पनि जनताको जनवादतर्फ अत्यधिक केन्द्रीय सदस्यहरूको समर्थन रहेका कारण नेकपाको मूलधार भनेको प्रचण्ड माधव कमरेड समूह नै हो र प्रवासी नेपाली एकता मञ्चको सचिवको हैसियतमा प्रचण्ड समूहलाई मेरो समर्थन रहनेछ।

 

Skip This
Skip This
Logo