निर्मम तरिकाले कुकुर मारेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको छ ।
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी खुट्टाका बाजिन्द्र विष्ट, स्नेहाज केयर ललितपुर, भैसेपाटीकातर्फबाट पशु प्राविधिक सुमनकुमार श्रेष्ठ र नेपाल भेटेरीनरी एशोसियसनकातर्फबाट पशु चिकित्सक सिताराम यादवले उजुरी दिएका हुन् ।
नगरपालिकाका प्रमुख दीपनारायण रिजालको निर्देशनमा रुपाकोट मझुवागढी नगरपालिका–१ का ४५ वर्षीय खेमराज आचार्य र अर्का श्रेष्ठ थरका व्यक्तिविरुद्ध उजुरी दर्ता गराएका हुन्।
आचार्य र श्रेष्ठले दिक्तेलको त्रिवेणीचौक र भानुचौकमा कुकुरहरुको मुख र टाउकोमा चिपर्टले कुट्ने, डोरीमा झुन्डाउने, बिष समेत प्रयोग गरी सार्वजनिक स्थलमा निर्मम तरिकाले मार्न लगाइएको र कुटपिट गरी अचेत अवस्थामा जिउँदै करिब दुई सय कुकुर खाडलमा पुरेको’ भन्दै कारबाहीको माग गरिएको छ ।
उजुरीमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ पशुपंक्षीसम्वन्धी कसुरको दफा २९० (१) र दफा २९१ (१) बमोजिम कसुर अपराध गरेको भन्दै संलग्नलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कारबाही गरिनुपर्ने उजुरीमा उल्लेख गरिएको छ ।































प्रतिक्रिया