कञ्चनपुर । निलम्बित डिएसपी अंगुर जिसी र टेलिभिजन प्रस्तोता रवि लामिछानेविरूद्ध परेको मुद्दा खारेज भएको छ । जिल्ला अदालत कञ्चनपुरले अदालतको मानहानी दरपिठ गरेको हो ।
दुवै जनाविरूद्ध भीमदत्त नगरपालिका १९ बागफाँटाका खड्गसिंह विष्टले अदालतमा उजुरी दिएका थिए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुरुवाती अनुसन्धान गरेका डिएसपी जिसी र पत्रकार खेम भण्डारीसँग कार्यक्रम प्रस्तोता रविले टेलिभिजन मार्फत अन्तर्वार्ता लिएका थिए ।
प्रमाण नष्ट गरेको र यातना दिएकोबारेको अभियोगमा जिल्ला अदालतमा कञ्चनपुरमा मुद्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै दाजुले खड्गसिंहले मुद्दा दायर गरेका थिए ।
खड्गसिंहले सुरुमा दिएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका थिए । पछि पुनः अर्को उजुरी दिएपछि दर्ता भएको थियो। सोमबार सोही उजुरीमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले श्रेस्तेदारकै निर्णय सदर गरेको हो ।
श्रेस्तेदार तथा जिल्ला अदालत कञ्चनपुरका प्रवक्ता वस्तीले भने, ‘ आज न्यायाधीश ज्यूले पनि मैले गरेकै निर्णय सदर गर्नुभएको छ । उजुरी दरपिठ भएको छ । यो सँगै मुद्दा खारेज भयो ।’
जिल्लाबाट मुद्दा खारेज भएको भन्दै प्रवक्ता वस्तीले अन्यबाट के गर्नुहुन्छ भन्ने उनीहरूकै हातमा रहेको बताए । गत साउनमा कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । उक्त घटनाका अपराधी अझै पत्ता लाग्न सकिरहेका छैनन् ।
सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रविविरुद्ध खेम भण्डारी आफैंले प्रेस काउन्सिलमा उजुरी हालेका छन् । आफुलाई कार्यक्रममा बोलाएर प्रेस काउन्सिल र पत्रकार आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी हालेका थिए ।





























प्रतिक्रिया