अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताएका हुन् । उनले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले कर दाता परिचयपत्र लिनुपर्ने बताए ।
उनले भने, “नागरिकता दिंदा सरकारले कर लिएको छ र तपाईहरु संग ? प्यान लिंदा पनि त्यही हो । प्यान लिए वापत कर तिर्नुपर्ने कुरा त होइन नि । करदाता परिचयपत्र हो ।”
उनले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाइएको स्पष्ट पारे । उनले ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनका लागि मुल्य अभिवृद्धि करको अर्को विकल्प नभएको बताए । उनले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको बताए ।
उनले भने “राष्ट्रबैकले तिब्बत तर्फबाट हुने आयातमा जति मुल्य सटही दिने भन्छ त्यत्तिनै भन्सारमा विगो कायम हुन्छ । २५ हजार डलर दियो २५ हजार डलरमा नै सामान हुन्छ । ३० हजार डलर दियो ३० हजार डलरकै बराबरको हुन्छ । दिएकै ३० हजार छ त ३५ हजारको उसले के विवरण भरोस् ? समस्या त्यहाँ छ ।”





























प्रतिक्रिया