महाभारतको मामाको कुरा गर्दा सर्वप्रथम मामाश्री शकुनीको नाम आउँछ । शकुनी बाहेक पनि केही त्यस्ता मामा छन् जसको प्रवृत्ति राेचक छ । यहाँ त्यस्ता ५ जना मामाकाे चर्चा गरिएकाे छ
कंश

महाभारत तथा पुराणमा जरासन्धको चर्चा निकै पाइन्छ । जरासन्ध तत्कालीन समयमा सबैभन्दा शक्तिशाली जनपद मगधका सम्राट् थिए । उनै जरासन्धका ज्वाइँ कंश भगवान श्रीकृष्णका मामा थिए । कंश आफ्ना बाबु उग्रसेनलाई राजगद्दीबाट हटाएर जेलमा हाली स्वयं शूरसेन जनपदका राजा बनेका थिए । मथुरा शूरसेन जनपदअन्तर्गत पर्दथ्यो ।
त्यहाँ कंशका काका शूरसेनको राज्य थियो । कंशले मथुरालाई पनि आफ्नो शासनको अधीन ल्याएका थिए र प्रजालाई अनेक प्रकारबाट पीडित बनाउन थालेका थिए । श्रीकृष्णकी फुपूका छोरा शिशुपालको झुकाव पनि कंशतिरै थियो ।
कंस पूर्वजन्ममा कालनेमि नामक असुर थिए जसलाई भगवान विष्णुले मारेका थिए । कंसको बारेमा आकाशवाणी भएको थियो कि उनकै बहिनी देवकीको आठौँ पुत्रले उनलाई मार्नेछ । यो भविष्यवाणीका कारण उनलाई डरले सताएको थियो ।
कंशले आफ्ना बहिनी देवकी र ज्वाइँ वसुदेवलाई जेलमा हालिदिएका थिए । जेलमा देवकी र वसुदेवका जति पनि पुत्र हुन्थे तिनलाई कंशले मारिदिन्थे । ८ औं पुत्र भगवान् श्रीकृष्ण जब रातमा जन्मिए तब चमत्कार घटित भयो । जेलका सबै सैनिक निदाए र सम्पूर्ण ढोकाहरू अनायास खुले ।
वसुदेवले पुत्र श्रीकृष्णलाई रातारात आफ्ना मित्र नन्दको घर गोकुलमा छोडेर आए । जहाँ नन्दपत्नी यशोदाले कृष्णको पालनपोषण गरिन्। कंशले कृष्णलाई मार्न थुप्रै राक्षस पठाए तर उनका सबै उपाय असफल भए। केही उपायले नछोएपछि कंशले मल्ल युद्धको आयोजन गरे र त्यसमा सबै योद्धाका साथै श्रीकृष्ण र बलरामलाई बोलाए ।
कंशको भित्री चाहना दुवैलाई बोलाएर आफ्ना योद्धाहरूका सहायताबाट उनीहरूलाई मार्नु थियो । तर यस्तो भएन । श्रीकृष्ण र उनका दाजु बलरामले मिलेर उनका पक्षका योद्धाहरू सहित आफ्ना मामा कंशलाई मारिदिए । अनि उनीहरुले आफ्ना मातापितालाई जेलमुक्त गराए ।
शकुनि

गान्धारीका दाजु र दुर्योधनको मामा शकुनि महाभारतका महत्वपूर्ण पात्र हुन् । कौरवहरूलाई छलकपटको मार्गमा लाग्न सिकाउने शकुनिले नै कौरवहरूको मनमा पान्डवप्रति घृणाभाव जगाएका थिए। यद्यपि भनिन्छ, उनको मनमा कौरवहरूप्रति पनि बदलाको प्रबल भावना थियो ।
भनिन्छ, भीष्मले शकुनीको बहिनी गान्धारीको विवाह अन्धा धृतराष्ट्रसँग जवर्दस्ती गरिदिएका थिए । पछि धृतराष्ट्रले गान्धारीका पिता सुबल तथा अन्य पुत्रलाई आजीवन जेल कोचिदिएका थिए ।
जेलमा उनीहरूलाई खानका लागि केवल एक व्यक्तिलाई पुग्ने भोजन दिइन्थ्यो । यो परिवारलाई नै भोकै मार्ने षड्यन्त्र थियो । राजा सुबलले यो निर्णय लिए कि उक्त भोजन केवल उनको कान्छो छोरोलाई दिने, ताकि आफ्नाे परिवारको एकजना मात्र भए पनि जीवित रहन सकियोस् ।
उक्त भोजन शकुनी एक्लैले खान्थे । अरू सबै एक-एक गरेर मर्न थाले। मृत्युअघि सुबलले धृतराष्ट्रसँग आफ्नाे अन्तिम इच्छाका रूपमा शकुनिको रिहाइ मागे । धृतराष्ट्रले उक्त कुरा स्वीकार गरे । शकुनि रिहा भए तर आफ्नाेआँखा अगाडि माता, पिता र दाजुहरू भोकले मरेको कुरा शकुनिले भुल्नसक्ने कुरै थिएन ।
जेल बाहिर आएपछि शकुनिसँग दुई विकल्प थियो। आफ्नो देश जाने वा हस्तिनापुरमै बसेर बदला लिन प्रयास गर्ने । गान्धारको राज्य आफ्ना पुत्र उलूकलाई दिएर शकुनिले दोस्रो विकल्प रोजे । शकुनिले हस्तिनापुरमा सबैको विश्वास जिते र १०० कौरवको अभिवावक बनेर बसे । विश्वासपूर्ण कार्यका कारण दुर्योधनले शकुनिलाई आफ्नाे मन्त्री नियुक्त गरे ।
शकुनिले दुर्योधनलाईआफ्नाे बुद्धिको मोहपाशमा बाँधेर भड्काए। शकुनिले नै पाण्डवहरूलाई मार्न लाक्ष्यागृहको योजना बनाए । शकुनिकै प्रयास स्वरूप महाभारत युद्धको आधार खडा भयो । शकुनिकै युक्तिका कारण जुवा खेलियो र उसको छलपूर्ण पासाको कारण पाण्डवले सर्वस्व गुमाए । जुन महाभारत युद्धको कारण बन्यो ।
शल्य

रघुवंशी शल्य पाण्डवका मामा थिए । कौरवहरूले पनि उनलाई मामा मानेर आदरसम्मान गर्थे । पान्डुपत्नी माद्रीका दाजु अर्थात नकुल र सहदेवका साख्खै मामा शल्यसँग विशाल सेना थियो । महाभारत युद्ध घोषणा भएपछि शल्य आफ्ना भान्जाहरूलाई सहायता गर्न सेनासहित हस्तिनापुरतर्फ लागे । बाटामा उनले जहाँ विश्राम गरे त्यहाँ सैनिक सहित उनलाई बस्न, खान, आराम गर्न उत्तम व्यवस्था थियो । यो व्यवस्था देखेर उनी प्रसन्न भए। यो सबै युधिष्ठिरले गरेका हुन् भन्ने लाग्यो उनलाई ।
हस्तिनापुरको नजिक पुग्दा सुन्दर विश्रामस्थल तथा सेनाका लागि भोजनको उत्तम व्यवस्था देखे । शल्यले यो देखेर भने, ‘युधिष्ठिरका कुन कर्मचारीले यस्तो उत्तम व्यवस्था गरेका हुन्, म पुरस्कार दिन चाहन्छु ।’ यो कुरो लुकेर सुनिरहेका दुर्योधनले सुने । उनी बाहिर आए र हात जोडेर भने, ‘मामाश्री ! यो सबै व्यवस्था मैले हजुरलाई कुनै कष्ट नहोस् भनेर गरेको हुँ ।’
यो सुनेर शल्यको मनमा दुर्योधनप्रति प्रेम उर्लियो । उनले भावुक हुँदै भने, ‘माग, आज तिमीले जे मागे पनि दिन्छु । म तिम्रो सेवाबाट अतिप्रसन्न छु ।’ यो सुनेर दुर्योधनले भने, तपाईं सेनासहित युद्धमा मेरो पक्षमा लड्नुहोस् र सेनापतिको कार्यभार सम्हाल्नुहोस् ।’ यो सुनेर शल्य केही बेर चुप रहे । वचनमा बाँधिएको हुनाले उनले दुर्योधनको प्रस्ताव स्वीकार नगरी सुख पाएनन् ।
तर उनले शर्त पनि राखे कि, म युद्धमा पूरा साथ दिन्छु, जे भन्छु त्यो गर्छु तर मेरो बोलीमा मेरै अधिकार हुन्छ । मैले चाहेको कुरा बोल्न कसैले रोक्न पाउने छैन । दुर्योधनले यो शर्तमा विशेष कुरा केही देखेनन् र त्याे शर्त स्वीकार गरे ।
शल्य महारथी थिए । उनलाई कर्णको सारथी पनि बनाइयो । उनले अहम् युद्धमा कर्णलाई हतोत्साहित गर्न कुनै कसर बाँकी राखेनन् । यो मात्र होइन, हरेक दिन युद्ध समाप्तिपछि उनी जब शिविरमा हुन्थे त्यतिबेला कौरवहरूलाई हतोत्साहित गरिरहन्थे ।
कृपाचार्य

कृपाचार्य चीरन्जीवी हुन् अर्थात् उनी अहिलेसम्म पनि जीवित छन् भन्ने विश्वास गरिन्छ । गौतम ऋषिका पुत्र शरद्वान र शरद्वानका पुत्र कृपाचार्य हुन् । कृपाचार्य महाभारत युद्धमा कौरवका तर्फबाट लडेका थिए भने युद्धपछि बाँच्न सफल १८ जना महायोद्धामध्ये एक थिए ।
कृपाचार्यको आमाको नाम नामपदी थियो र उनी देवकन्या थिइन् । कृपाचार्यको बहिनीको नाम कृपी थियो र कृपीको विवाह गुरु द्रोणका साथ भएको थियो । तिनै कृपीका छोरा थिए, अश्वत्थामा । यसरी कृपाचार्य अश्वत्थामाका मामा थिए । मामाजस्तै भान्जा अश्वत्थामा पनि चिरन्जीवी थिए, मामाभान्जा मिलेर युद्धमा विपक्षीको सातो खाएका थिए ।
कृपका पिता धनुर्विद्यामा साह्रै विख्यात थिए । पिताबाट शिक्षा पाएका कृप पनि आफ्ना पितासमान पारंगत थिए । भीष्मले यिनलाई पाण्डव तथा कौरवको शिक्षा-दीक्षाका लागि नियुक्त गरेका हुनाले उनी कृपाचार्यको नामले विख्यात भए । महाभारत युद्धपछि यिनी पाण्डवहरूसँगै बसे । पछि यिनले अर्जुनका नाति परीक्षितलाई अस्त्रविद्या सिकाए ।
युद्धमा द्रोणचार्य, कृपाचार्य र अश्वत्थामा ब्राहृमण भएर पनि भयंकर योद्धा थिए । राति निदाएका पाण्डव पक्षका योद्धालाई अश्वत्थामाले मार्ने क्रममा कृतवर्मा र कृपाचार्यले पनि साथ दिएका थिए । उनलाई यो कुराको पछुतो पनि भएको थियो ।
श्रीकृष्ण

भगवान् श्रीकृष्ण अर्जुन पुत्र अभिमन्युका मामा थिए । पाण्डवलाई महाभारत युद्धमा जीत कृष्णले नै दिलाएका थिए । उनी सबै कुरा जान्दथे, चाहेका भए रोक्न सक्थे, तैपनि उनले अभिमन्युलाई चक्रव्यूहमा जाने वातावरण बनाइदिए । जयद्रथ सहित ७ योद्धाले युद्धको नियम तोडेर अभिमन्युको निर्मम हत्या गरे। श्रीकृष्ण यही चाहन्थे । जब नियम एकपटक एक पक्षले तोड्छ, अर्को पक्षका लागि त्यो नजिरले काम गर्छ । यही कुरालाई उनले कर्णको वध गर्ने क्रममा समेत प्रयोग गरे ।
भगवान् श्रीकृष्णकै कारण दुर्योधनको जाँघ कमजोर भयो । कर्णको कवच कुन्डल मागियो । बर्बरीकको शिर काटियो । उनैको चालका कारण कर्णको एक मात्र अमोघ अस्त्र घटोत्चकमाथि चलाइयो । उनकै चालका कारण भीष्म, द्रोण र जयद्रथको वध सम्भव भयो । महाभारत युद्धमा जे जति कुरा भए ती सबै श्रीकृष्णकै इच्छाले भयो ।
यसरी माथि उल्लेख भएका मामाहरूका कारण नै महाभारतको सम्पूर्ण कथाक्रम रचना भयो। अँ, अर्का एकजना मामा थिए, जसको नाम थियो, धृष्टद्युम्न थियो । उनी द्रौपदीका दाजु तथा द्रौपदीका पाँच पुत्रका मामा थिए । द्रोणको हातबाट द्रुपद तथा विराट मारिएपछि भीम र धृष्टद्युम्न मिलेर द्रोणलाई भ्रममा पारी अस्त्रशस्त्र त्याग्न लगाइयो । यसै अवसरको लाभ उठाएर धृष्टद्युम्नले द्रोणको टाउको छिनाले । यद्यपि अन्तमा धृष्टद्युम्नले आफ्ना भान्जाहरूलाई बचाउन सकेनन् । अश्वत्थामाले धृष्टद्युम्न तथा उनका पाँचजना भान्जाको वध गरिदिए ।





























प्रतिक्रिया