सगरमाथा मापनको ९० प्रतिशत काम पूरा, पुससम्ममा नतिजा आउने

सगरमाथा मापनको ९० प्रतिशत काम पूरा, पुससम्ममा नतिजा आउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

नापी विभागले सगरमाथा मापनको ९० प्रतिशत काम सम्पन्न गरेको छ । आउँदो पुससम्ममा सगरमाथा मापनको नतिजा सार्वजनिक गर्ने विभागको समय तालिका रहेको छ ।

तराईदेखि हिमाली क्षेत्रसम्मका तथ्याङ्क सङ्कलन भइसकेको छ भने वर्षाका कारण पहाडी क्षेत्रको काम रोकिएको छ । विभागले असारसम्ममा फिल्डको काम सक्ने तालिका तय गरे पनि त्यसो हुन सकेन । वर्षाका कारण काम गर्नसक्ने अवस्था नहुँदा फिल्डको १० प्रतिशत काम रोकिएको हो । नापी विभागका सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले फिल्डको काम असारसम्म सक्ने योजना रहेको भए पनि वर्षाका कारण समयमा सम्पन्न गर्न नसकेको बताउनुभयो । त्यसैले आउँदो पुससम्ममा उचाइ मापनको नतिजा सार्वजनिक गर्नका लागि समय निर्धारण गरिएको छ ।

उपलब्ध तथ्याङ्क सङ्कलन र प्रोसेसिङको काम सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै उहाँले तोकिएकै समयमा काम सक्ने दाबी गर्नुभयो । तोकिएको सयममा फिल्डको काम नसकिँदा समयमा काम सकिने सम्भावना कम छ । वर्षा सकिएसँगै चाँडै परिणाम दिने गरी काम सुरु हुने पनि उहाँले बताउनुभयो ।

नेपाल सरकारको स्रोत साधनको उपयोग गरी पहिलोपटक सगरमाथाको मापन हुन लागेको हो । गतवर्ष फागुनदेखि बङ्गालको समुद्री सतहबाट सगरमाथाको मापन सुरु गरिएको थियो । दुईवटा विधि ‘ग्राबिटी सर्भे र त्रिगोनोमेट्रिक लेभलिङ’बाट सगरमाथाको मापन गरिँदैछ । पहाडी क्षेत्रमा ‘ग्राबिटी सर्भे’को काम बाँकी रहेको हो ।

नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने ८८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरकफरक निस्किएको थियो ।

अमेरिकाको मापनमा ८८५० मिटर उचाइ निस्किएको थियो भने चीनको मापनमा ८८४४ मिटर निस्किएको थियो । चीनको मापनमा हिउँलाई घटाएर चट्टानी भागको मात्र उचाइ लिइएको भनिएको छ । विसं २०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्भेमा काठमाडौँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । काठमाडौँ उपत्यका औसतमा शून्य दशमलव ९२ मिटर उचालिएको र १.४२ मिटर दक्षिण–पश्चिमतर्फ सर्केको निष्कर्ष निस्किएको थियो । यसलाई आधार मानेर सगरमाथाको उचाइमा पनि परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ । त्यसपछि सगरमाथा मापनलाई नेपाल सरकारले अगाडि सारेको हो ।
गोरखापत्रबाट

Logo