म्यानमारमा जै बिहान स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ ।
म्यानमारमा नेताहरूलाई नियण्त्रणमा लिएलगत्तै संकटकाल घोषणा गरेको छ। सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।
यसअघि सोमबार उज्यालो हुन नपाउँदै म्यानमारको सेनाले नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको थियो। म्यानमारमा केही समयदेखि सैनिक कू हुने हल्ला चलिरहेको थियो ।
नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीले जनाएको छ।
गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो। सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै थियो। सेनाले यो बैठक नराख्न भनिरहेको थियो।
सन् २०१५ को चुनावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थिएन। गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।
आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो । म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो।





























प्रतिक्रिया