आगामी निर्वाचनपछि पदमा बस्ने कुनै रहर छैन- प्रधानमन्त्री

आगामी निर्वाचनपछि पदमा बस्ने कुनै रहर छैन- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई पदमा बसिरहने कुनै रहर नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट सरकार लगलग काम्यो भन्ने दिवा सपना नदेखे हुन्थ्यो । यो सरकार चुनौतीको सामना गरेर आएको हो ।’

पद नगएको मानिस दुनियामा कोही भन्दै प्रधानमन्त्री ओलीले सरकारले उदारता देखाउँदै प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिएका छन् ।

सरकारको उदारता र संयमतालाई हेरेर केही तत्वहरु बढी नै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संवैधानिक दायरमा अघि बढ्ने कुरामा यो सरकार प्रशन्नतापूर्वक आलोचना स्वीकार गर्छ । तर, सरकारको आलोचनाका लागि प्रतिगमन ल्याउँछु, प्रणाली उल्ट्याँछौं भन्ने कुरा यो सरकारलाई स्वीकार्य हुँदैन ।’

प्रधानमन्त्री केपी ओलीले अधिनायकवादतर्फ गयो भन्ने खालका कुरा नगर्न विपक्षीहरुलाई सचेत गराए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुनका लागि कानूनी राज तथा अशिक्षा र पछौटेपनाबाट अन्मुक्ति आवश्यक रहेको पनि बताए ।

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार बढेको भन्ने भनाईमा सत्यता नभएको बताएका छन् । सुशासन कायम र अपराध नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गरेको भन्दै उनले सम्पत्ति सुद्धीकरण, ह्युमन ट्राफिकिङ लगायत जो सुकैलाई पनि कानुनको दायरमा ल्याउने बताए ।

Logo