कांग्रेस अनुशासन समितिमा साढे १२ सय उजुरी

कांग्रेस अनुशासन समितिमा साढे १२ सय उजुरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

पार्टी अनुशासन विपरीत कार्य गरेको भन्दै कांग्रेस अनुशासन समितिमा साढे १२ सय उजुरी परेको छ । दुई वर्ष अघि भएको तीन तहको निर्वाचनका समयमा पार्टीमा अन्तर्घात गर्ने साढे १२ सयविरुद्ध छानविन हुने अनुशासन समितिले जनाएको छ ।

पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने, त्यसका प्रस्तावक तथा समर्थक गरी २९८ जनालाई यसअघि नै पाँच वर्षका लागि पार्टीबाट बर्खास्त गरिसकेको अनुशासन समिति संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए । पार्टी छाडेकाको पनि अभिलेखबाट हटाउने काम भइरहेको उनले बताए । ‘पार्टी केन्द्रीय कार्यालयलाई पार्टी छाड्नेको अभिलेख हटाउन भनेका छौँ ।’

अनुशासन समितिका सदस्य देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई समेत निर्वाचनमा अन्तर्घात गरेको भन्दै उजुरी परेको छ । यस्तै, पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरे र अतहर कमाल मुसलमान, पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वराज्यमन्त्री पुष्कर ओझा, डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लविरुद्ध पनि उजुरी परेको कांग्रेस स्रोतले जनाएको छ।

‘आएका उजुरीको अध्ययन गर्दैछौँ’, संयोजक आङ्देम्बेले भने, ‘क्रमशः निर्णय गर्दै अघि बढ्छौँ ।’ पूर्वसहमहामन्त्री जोशीको विषयमा भने पार्टीले आवश्यक कागजात अनुशासन समितिमा पठाउने निर्णय गरिसकेको छ । जोशीले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई असहयोग गरेका थिए ।

उनी निकटका कार्यकर्ताले जिल्लामा छुट्टै समानान्तर समिति गठन गरेका छन् । यो समिति अनाधिकृत र अवैधानिक भएको र यसो गर्नु अनुशासनको गम्भीर उल्लंघन भएको कांग्रेस केन्द्रीय समितिको निष्कर्ष छ ।
अन्नपूर्णबाट

Logo