काठमाडौं,
निकै चर्चामा रहेको मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउन सहमति जुटेको हो । साथै त्यसका लागि सबै दलसँग सहमति जुटाउने विषयमा पनि छलफल भएको बताइएको छ ।
उक्त छलफलमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, सांसद दीनानाथ शर्मा, विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डे, विपक्षी दलका सचेतक सरिता प्रसाईँ, समाजवादी पार्टीका नेता प्रमिला कुमारी र पत्रकार महासंघका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
यसअघि प्रस्तावित मस्यौदामा वर्तमान प्रेस काउन्सिललाई सरकार नियन्त्रित बनाउन र दण्ड–जरिवानाको प्रावधान राखेर प्रेसमाथि नियन्त्रण गर्न खोजिएको भन्दै चौतर्फी विरोध भएपछि उक्त विधेयक अहिलेसम्म ‘टेबुल’ हुन सकेको थिएन ।
राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ लगायतका केही सरोकारवाला संस्थाहरू आन्दोलनमा उत्रिएपछि सरकारले त्यसलाई स्थगित गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि उक्त विधेयकमा राखिएका कतिपय प्रावधानप्रति आपत्ति जनाउदै संसद नै अवरुद्ध गरेपछि त्यसलाई अघि बढाउन सरकारलाई सकस परेको थियो । तर केही दिनअघि सरकार र महासंघबीच समस्या समाधान गरेर जाने सहमति भएपछि महासंघले आन्दोलन स्थगित गरेको थियो ।
यसैबीच सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार महासंघले अगाडि सारेका तीन बुँदे मागलाई सम्बोधन गर्न सरकार सकारात्मक भएको बताउँदै भन्नुभयो–छलफल सकारात्मक ढंगबाट अगाडि बढेको छ, अब विवाद गर्न आवश्यक छैन्, जायज माग पूरा गर्न सरकार तयार छ ।’
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया