प्रधानमन्त्रीले भने, ‘प्रतिनिधी सभा विघटनको कारणसहित जनतामा जान तयार हुनुस्’

प्रधानमन्त्रीले भने, ‘प्रतिनिधी सभा विघटनको कारणसहित जनतामा जान तयार हुनुस्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका विघटित प्रतिनिधी सभा सदस्यहरुसँग बालुवाटारमा छलफल गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटका विघटित प्रतिनिधी सभा सदस्यहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार प्रसार र संसद विघटनको निर्णयको पक्षमा उभिदैँ ताजा निर्वाचनमा जान नेताहरुलाई निर्देशन दिएका छन् ।

ओलीले सरकारलाई राम्रोसँग काम गर्न नदिएको, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी गरेको देखिएपछि संसद विघटनको निर्णय गर्नुपरेको बताएको निवर्तमान सांसद निरुदेवी पालले बताइन् ।

उनले भने, ‘सरकारलाई काम गर्न नदिने, विश्वभर कम्युनिष्ट आन्दोलन ओरालो लागेको बेला नेपालमा भने जुटाएर ठूलो पार्टी बनाएको अवस्थामा पनि सरकारलाई काम गर्न नदिने, एकताको काम पनि अगाडि बढाउन सकिएन । सरकारले जसरी काम गर्नुपर्थ्यो त्यसरी काम गर्न दिइएन । प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने कुराले बाध्य भएर संसद विघटन गराउनु परेको कुरा प्रधानमन्त्रीले जानकारी गराउनु भएको छ ।’

प्रधानमन्त्री ओलीले संसद विघटनको कारणसहित जनतासँग क्षमायाचना गर्दै मत माग्न जान पनि निर्देशन दिए। राष्ट्रियताका सवालमा सरकारले गरेका कामहरुको प्रचार गर्न निर्देशन दिँदै ओलीले मत माग्नु पर्ने बताएका हुन् । ओलीको भनाई उदृत गर्दै पालले भनिन् , ‘नयाँ जनादेशको लागि फेरि हामी जनतामा जानुपर्छ । संसद विघटनको कारणसहित जनतामा जानेछौँ । जनतासँग क्षमायाचना गर्नेछौँ । राष्ट्रिय एकताको सवालमा प्रधानमन्त्रीले लिएको कदम, कालापानी लिपुलेकलाई नेपालको नक्सामा सामेल गर्ने र सर्वसम्मत् संविधान संशोधन गरे वापत् प्रधानमन्त्रीलाई चुनौती आएको हो । देशलाई समृद्ध बनाउन प्रधानमन्त्रीले गरेको काम लिएर जनादेशमा जान निर्देशन गर्नुभयो ।’

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, र स्थायी कमिटी सदस्य लेखराज भट्टले निर्देशन दिएका थिए । भट्ट पूर्व माओवादी समुहका नेता हुन् । पूर्व माओवादी समुहका मन्त्रीहरुले राजीनामा दिएको भए पनि उद्योगमन्त्री रहेका भट्टले राजीनामा दिएका छैनन् । सांसद पालले प्रचण्ड माधव समुहले पौष ७ गते बोलाएको केन्द्रीय कमिटी बैठकमा ओली पक्ष नजाने र ओलीले छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउने बताइन् ।

नेकपाको अन्तरिम विधानमा अल्पमत, बहुमतको व्यवस्था नभएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न नसकिने उनले बताइन्। साथै उनले प्रचण्ड माधव समुहले पुष ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा आफूहरुको उपस्थिति नहुने स्पष्ट पारिन् ।

Logo