माइतीघरमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नेकपाकै कार्यकर्ताले गरे खबरदारी जुलुस (भिडियोसहित)

माइतीघरमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नेकपाकै कार्यकर्ताले गरे खबरदारी जुलुस (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारको प्रतिनिधीसभा विघटन गर्ने पछिल्लो कदमको सत्तारुढ दल नेकपाबाटै तिब्र विरोध भएको छ । सरकारको कमदको विरोध गर्दै नेकपाले आइतबार माइतीघरमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी गरेको छ । असंवैधानिक कमद फिर्ता लिन दबाब पनि दिएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्गलबार केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभाको विघटन तथा पार्टीको आगामी कदमबारे निर्णय गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस जनादेश र जनभावना विपरीत रहेको ठहर गर्दै सोको विरोध गर्ने निर्णय गरेको जानकारी दिए। बैठकपछि प्रवक्ता श्रेष्ठले भने, “पार्टी स्थायी कमिटीको बैठक जारी रहेको र संसद् अधिवेशन बोलाउनुपर्ने बेलामा सो कदमले देश, जनता र पार्टीको भविष्यमाथि नै प्रश्न चिह्न खडा गरेको छ ।”

पार्टी अन्तरिम विधानको दफा ५६ अनुसार अध्यक्ष ओलीमाथि अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय पनि गरिएको छ । प्रवक्ता श्रेष्ठले भने, “प्रधानमन्त्रीको कदम संविधान र लोकतन्त्र पक्षधरका लागि स्वीकार्य हुन सक्दैन । त्यसकारण हाम्रो पार्टीले यस्तो कदमविरुद्ध राजनीतिक उपचार खोज्नेछ ।” बैठकले पार्टीका नेता तथा कार्यकर्ता एवं पार्टी पङ्क्तिलाई लोकतन्त्रलाई कमजोर पार्ने सबै प्रकारका गतिविधिका विरुद्धमा एकताबद्ध भई विरोधमा उत्रन एवं पार्टी र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि उभिन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै स्थायी कमिटीको बैठकले संसदभित्र र बाहिरका सबै राजनीतिक दल, नागरिक समाज एवं लोकतन्त्र पक्षधर सम्पूर्ण शक्ति र जनसुदायलाई लोकतान्त्रिक गणतन्त्रका पक्षमा एकताबद्ध भएर उभिन आग्रह गरेको छ । बैठकले स्थायी कमिटीका रिक्त सदस्यमा पूर्वसभामुख कृष्णबहादुर महरालाई मनोनयन गरी आवश्यक निर्णयका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय पनि गरेको छ । बैठकमा स्थायी कमिटीका कूल ४५ सदस्यमध्ये आमन्त्रित दुईसहित ३१ जनाको सहभागिता थियो ।

यता नेपाल कम्युनिष्ट पार्टी सहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा आइतबार बसेको संयुक्त बैठकले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को बैठकमार्फत प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशका लागि निर्वाचनमा जाने सिफारिस राष्ट्रपति समक्ष गरेका थिए । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संसद् विघटन गर्ने सरकारको निर्णयको संयुक्त विरोध गर्ने सहमति भएको हो ।

बैठकमा नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ र जनार्दन शर्मा सहभागी थिए । यस्तै कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु बालकृष्ण खाण, डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । यस्तै जसपाका नेताहरु डा बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।

Logo