काठमाडौं ।
भुक्तानी दिने क्रम सुरु भए पनि उखु किसानले आन्दोलन स्थगित नगर्ने भएका छन् । सरकार र आन्दोलनरत उखु किसानबीच आइतबार भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगीले भुक्तानी दिने क्रम सुरु गरेकाले आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । तर उखु किसानले सम्पूर्ण भुक्तानी नभएसम्म आफूहरू आन्दोलन स्थगित नगर्ने अडानमा रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन्।
आन्दोलन सुरु गरे यता श्रीराम सुगर मिलले २५ करोड र अन्नपूर्ण सुगर मिल तथा इन्दिरा सुगर मिलका सञ्चालकले आठ करोड रुपियाँ भुक्तानी गरिसकेका छन् । ती मिलका सञ्चालकले दिनदिनै भुक्तानी गर्दै आएको भए पनि किसानले पूरै भुक्तानी नभएसम्म शान्तिपूर्ण आन्दोलन गर्ने धारणा वार्तामा राखेको उनले जानकारी दिइन् । आन्दोलनको अगुवाइ गरिरहेका राकेश मिश्रले सोमबारदेखि मौन आन्दोलन गर्ने बताए ।
मन्त्रालयले किसानको सम्पूर्ण बक्यौता भुक्तानी गराउन पहल गर्ने प्रतिबद्धतासमेत गराएको छ । उद्योगीले पनि यो महिनाभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराइदिने प्रतिबद्धता जनाएका छन् तैपनि किसानलाई विश्वास नलागेको सहप्रवक्ता केसीले बताइन्।गोरखापत्रबाट































प्रतिक्रिया