राष्ट्रपतिलाई आफ्नो थान्कामा बस्न ओलीको चेतावनी, प्रधानमन्त्रीको राजीनामा माग्दै कांग्रेस[भिडियाेसहित]

राष्ट्रपतिलाई आफ्नो थान्कामा बस्न ओलीको चेतावनी, प्रधानमन्त्रीको राजीनामा माग्दै कांग्रेस[भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो थान्कामा बस्न चेतावनी दिए
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो थान्कामा बस्न चेतावनी दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा शनिबार आयोजित पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राष्ट्रपति पौडेल सबैको साझा नभएर कांग्रेसको प्रतिनिधि बनेको आरोप लगाउँदै भने, ‘तपाईं कांग्रेसको प्रतिनिधि हैन, तपाईं गठबन्धनको प्रतिनिधि हैन। आफूले पाएको अधिकार प्रयोग गर्नुस्, आफ्नो थान्कामा बस्नुस् । जथाभावी नगर्नुस् ।’ राष्ट्रपति संविधानभन्दा माथि हुन नहुने उनको भनाई थियो ।

कानुन विपरीत भए जग्गा फिर्ता गर्छुः अरुणकुमार चौधरी
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले प्रहरीसमक्ष बयान दिँदै कानुन विपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् । सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् । सीआईबी टोलीले बिहीबार पक्राउ गरेका उनलाई शुक्रबार दिनभर बयान लिइएको थियो ।

त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी)अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् । ठकुरीले आज राजीनामा दिएका हुन् । उनले गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार डीआईजी चन्दको राजीनामा प्रक्रिया अघि बढिसकेको छ । उनको राजीनामाको कारण खुलिसकेको छैन ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको जलजले पुगी उनले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । सो क्रममा प्रधानमन्त्री दाहालले आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै अब उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताएका छन् । उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको उनको भनाई थियो ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा दबाबमा नपर्न सुझाए
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा कुनै दबाबमा नपर्ने बताएका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि शनिबार पोखरा पुगेका श्रेष्ठले निर्दोष व्यक्तिहरु कारबाहीमा नपरुन् भनेर सचेत हुने तर भ्रष्टाचार, जालसाजी ठगी र संगठित अपराधमा संलग्न कसैलाई पनि दबाबका आधारमा नछाड्ने बताएका हुन् ।देशमा एकातिर सुशासन माग गर्ने र अर्कोतिर सुशासन स्थापनाका निम्ति कारबाही गर्दा विरोध हुने गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले असन्तुष्टि जनाए ।

सरकारको स्थापना दिवस विवादमा
लुम्बिनी प्रदेश सरकारले ६ वर्षदेखि फागुन ३ गते मनाउँदै आएको सरकारको स्थापना दिवस यो पटक सारेर माघ २१ गते बनाइएपछि यसबारे विवाद सुरु भएको छ । प्रदेश सरकार निर्माण भएको ६ वर्षदेखि पहिले बुटवल र पछि दाङमा समेत फागुन ३ गते नै मनाइदै आएको थियो ।सरकारले आफ्नो ढंगले स्थापनाको मिति सारेर इतिहास मेट्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ भने सत्तारुढ दलकै सांसदहरुले पनि स्थापनाको मिति फेरिएको विषयमा आफू जानकार नभएको जनाएका छन् ।

फोहोर संकलन गर्न काठमाडौँ महानगरपालिकाले छुट्टै रङ्ग संकेतसहितको गाडी तयार पार्यो
स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो ।वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको विचबाट २ खण्ड बनाइएको छ ।

आमजनता पार्टीले भ्रष्टाचारविरुद्ध खबरदारी मोटरसाइकल र्याली निकाल्यो
देशमा रोजगारीको वृद्धि तथा सुशासन कायम राख्न सरकारको ध्यानाकर्षण गराउन आमजनता पार्टीले आज ‘भ्रष्टाचारविरुद्ध खबरदारी’ भन्ने नारासहित काठमाडौँमा मोटरसाइकल र्याली निकालेको छ । पार्टीको उपत्यका संयोजन समितिद्वारा आयोजित उक्त र्याली कुपण्डोल–थापाथली हुँदै रत्नपार्क परिक्रम गरी भद्रकालीमा कोणसभामा परिणत भएको थियो । प्रदर्शनीमा झण्डै सात हजार जनाले सहभागिता जनाएको दाबी छ ।

प्रधानमन्त्री प्रचण्ड सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अपनायोः नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर कांग्रेसकै टाउकोमा हिर्काउने रणनीति अपनाइरहेको र सोही व्यवहार देखाउन थालेको दावी गरेका छन् । नेपाली कांग्रेस चाँगुनारायण नगर समितिको प्रथम सम्मेलनलाई दुवाकोटमा सम्बोधन गर्दै नेता महरले कांग्रेस पार्टीको असफलता रोक्नका लागि वर्तमान गठबन्धनको नेतृत्वबाटै प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने बताए । उनले कांग्रेसलाई असफल बनाउने मिसनमा प्रचण्ड सरकार रहेको आरोप समेत लगाएका छन् ।

आइतबारदेखि पानी तथा हिउँ पर्ने
आइतबारदेखि पानी तथा हिउँ पार्ने मौसमी प्रणाली नेपाल भित्रिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार हिउँदे मौसमको विशेष बुलेटिन जारी गरी पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबारदेखि देशका धेरै स्थानमा मौसम बदली र विभिन्न प्रदेशमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जानकारी दिएको हो।

अमेरिकाले सिरिया र इराकमा ३० मिनेटसम्म हवाई हमला गर्यो
अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ । यी आक्रमणहरू धेरै लामो दूरीको बी–वान सुपरसोनिक बमवर्षकहरूद्वारा गरिएका थिए। यी विमानहरू अमेरिकाबाट उडेका थिए।गत जनवरी २८ मा उत्तरपूर्वी जोर्डनमा एक अमेरिकी सैन्य आधारमा ड्रोन आक्रमण भएको थियो जसमा तीन अमेरिकी सैनिकहरू मारिएका थिए। अमेरिकाले यसका लागि इरानसँग सम्बन्धित चरमपन्थी समूहलाई जिम्मेवार ठहर गरेको छ । यस हमलाको जवाफमा अमेरिकाले यो आक्रमण गरेको हो ।

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट च्याम्पियन
नेपाल पुलिस क्लबले अपराजित रहँदै छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।त्रिवि क्रिकेट मैदानमा १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । पुलिसको जितमा शंकर रानाले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनको अविजित इनिङ खेले । जितको लागि ६ रन चाहिँदा उनले कुशल मल्ललाई स्टेटमा छक्का हान्दै खेल अन्त्य गरेका थिए । आरिफ शेख ५४ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे ।

Logo