हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ।
मृत्युदण्ड दिइएकाहरुमा ६४ वर्षीय कोइची शोजी र ५० वर्षीय यासुनोरी सुजुकी रहेका छन्। शोजीमाथि सन् २००१ मा दुई महिलाको हत्या गरेको तथा सुजुकीमाथि सन् २००४ मा तीन महिलाको हत्यामा दोषी प्रमाणित भएको थियो।
यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो।
जापानमा अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका छन्। विश्वका मानव अधिकारवादी व्यक्ति एवं संस्थाहरु समेतका अन्तर्राष्ट्रिय जगतबाट जापानको उक्त कदमको विरोध भएपनि जापानभित्रै मृत्युदण्डको सजायप्रति समर्थन जनाउनेको संख्या ठूलो रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । जापानका कानुनमन्त्री टाकासी यामाशिताले निकै सोचविचार र अध्ययनपश्चात् मृत्युदण्ड दिने विषयमा आफूले आदेश दिएको संवाददाताहरुलाई बताए।
जापानमा सन् १९९८ देखि मृत्युदण्डको सजायलाई गोप्य नराखी सार्वजनिक जानकारीमै ल्याएर मृत्युदण्ड दिन थालिएको थियो । सन् २०१८ मा पनि १५ जनालाई मृत्युदण्ड दिइएको थियो जसमा सन् १९९५ मा टोकियोमा सरिन ग्यास आक्रमणका दोषी १३ जना पनि रहेका थिए।
गत वर्ष सन् २०१८ को जुलाईमा ओम शिनरिक्यो सम्प्रदायका पूर्व गुरु शोको आशाहारा समेतलाई मृत्युदण्ड दिइएको थियो । एएफपी





























प्रतिक्रिया