काठमाडौं । युएस–बंगला विमान दुर्घटनाका मृतक परिवारले क्षतिपूर्तिको लागि मुद्दा दायर गरेका छन् । सन् २०१८ मार्च १२ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका ७ जना एमबीबीएस विद्यार्थीका हकवाला तथा तिनका बाबुआमाले २ अर्ब १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका हुन् ।
उनीहरूले वायुयान धनी सञ्चालक कम्पनीविरुद्ध २ अर्ब १० करोड रुपैयाँ (१९ मिलियन ९० हजार डलर) भन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
दुर्घटना भएको १६ महिना भइसक्दा पनि कम्पनीको तर्फबाट अन्तर्राष्ट्रिय कानुनअनुसार मागदावी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरेको भन्दै बाध्य भई पीडितहरुले न्यायालयमा मुद्दा दायर गरिएको उनीहरुको भनाई छ ।
उक्त दुर्घटनामा मृत्यु भएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबाबुले मुद्दा दायर गरेका हुन् ।
सो सम्बन्धी जाँचबुझको लागि नेपाल सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा आयोग गठन गरेको थियो । मन्ट्रियल महासन्धीको धारा १७ को व्यवस्था र वार्सा महासन्धीको धारा २५ को व्यवस्था अनुसार हेलचेक्रेयाइँबाट भएको दुर्घटनामा वायुयान सञ्चालकले असीमित दायित्व वहन गर्नुपर्ने व्यवस्था रहेको छ ।
ढाकाबाट काठमाडौं आएको युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । त्यसमा सवार ७१ यात्रुमध्ये ५१ जनाको मृत्यु भएको थियो । उक्त विमानमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका यात्रु थिए भने बाँकी बंगाली क्रु मेम्बर रहेका थिए ।































प्रतिक्रिया