महाभारत विचित्र ग्रन्थ हो । यो महाकाव्यमा पात्रहरूको अनौठो संयोजन एवं विशेषता पाइन्छ । जहाँ संजय, सहदेव, भीम, अश्वत्थामा, बर्बरीक, घटोत्कचजस्ता थुप्रै चमत्कारिक एवं रहस्यमयी पुरुष पात्र छन् भने त्यस्ता चमत्कारिक विशेषतायुक्त महिलाहरू पनि छन् जसको शक्तिका विषयमा महाभारतले मुक्तकण्ठले प्रशंसा गरेको छ । आफूमा निहित शक्तिका कारण प्रसिद्ध हुन सफल केही त्यस्ता महिला पात्रका विषयमा यहाँ संक्षिप्त जानकारी दिने प्रयास गरिएको छ ।
गंगा
ब्रह्माको श्रापका कारण शान्तनु र गंगाले मनुष्य योनिमा जन्म लिनुपरेको थियो । पृथ्वीमा जन्म लिएपछि वयस्क उमेरमा यी दुईको भेट भयो । गंगाले शान्तनुसँग विवाह गर्नका लागि एक शर्त राखिन् । उनले भनिन्र्, म तपाईंसँग विवाह त गर्छु तर मैले जे गरे पनि के गरेको भनेर कहिल्यै सोध्न पाउनुहुन्न, जब सोध्नुहुन्छ म तुरुन्तै तपाईंलाई छाडेर जानेछु ।’ शान्तनुले शर्त मन्जुर गरे ।
गंगा र शान्तनुबाट जब छोराको जन्म हुन्थ्यो अनि गंगा तिनलाई तुरुन्तै नदीमा लगेर बगाइदिन्थिन् । शर्तमा बाँधिएका कारण शान्तनु केही गर्न सक्दैनथे । जब गंगाले आठौं छोरोलाई पनि नदीमा बगाइदिन लागिन्, शान्तनु शर्तमा बाँधिएर रहन सकेनन् । उनले गंगालाई त्यसो गर्न रोकेर सोधे, ‘तिमीले किन यसो गरिरहेकी छ्यौ ?’
शर्तभंग भइसकेपछि गंगाले भनिन् कि यी आठ पुत्रहरू अष्टवसु हुन् जो ऋषि वशिष्ठको श्रापका कारण मानव योनिमा जन्मिएका हुन् । सातजनाले जन्म लिनेबित्तिकै मत्र्यलोक छाड्ने अनुग्रह पाएका थिए तर यो आठौं पुत्रले जीवनपर्यन्त मानव दुःख भोग्नुपर्नेछ । त्यसैले यो छोरो मारिनेछैन, अहिले यो सानो छ र यसलाई आमाको खाँचो छ । यो ठूलो भएपछि म तपाईंलाई नै फिर्ता गरिदिन्छु । यति भनेर गंगा छोरोसहित अलप भइन् । गंगा र शान्तनुका यही आठौं पुत्र देवव्रत पछि गएर भीष्म पितामहका नामले प्रसिद्ध भए ।
सत्यवती
गंंगापछि राजा शान्तनुकी दोस्री पत्नी थिइन् सत्यवती । सत्यवतीको शरीरबाट माछाको गन्ध आउँथ्यो त्यसैले यिनलाई मत्स्यगन्धा भनिन्थ्यो । पछि ऋषि पराशरले यिनलाई शरीरबाट एक योजनसम्म बास्ना आउने योजनगन्धा बनाइदिए । पराशर ऋषिले नै यिनलाई सदैव कुमारी रहिरहने वरदान दिएका थिए । पराशर र सत्यवतीबाट वेदव्यासको जन्म भएको थियो । भनिन्छ, सत्यवती नै हस्तिनापुरको गद्दीबाट कुरुवंश नष्ट हुनुको एक प्रमुख कारण थिइन् ।
गान्धारी
धृतराष्ट्रसँग विवाह भएपछि आँखामा पट्टी बाँधेकी गान्धारीको आँखामा अद्भुत शक्ति थियो । गान्धारीले आप्mनो शक्तिको बलमा दुर्योधनको शरीरलाई वज्र समान बलियो बनाइदिएकी थिइन् । तर श्रीकृष्णको चतुरताका कारण दुर्योधनको तिघ्रा कमजोर बनेको थियो । श्रीकृष्णले आमाका अगाडि नांगो भएर जानु हुँदैन भनी कम्मरदेखि तिघ्रासम्म छोप्न लगाएका थिए । गान्धारीले यो सबै कृष्णले नै गराएका हुन् भन्ने बुझिन् । उनी श्रीकृष्णकै कारण महाभारत युद्ध भएको हो र उनैका कारण आप्mना सबै पुत्रहरू मरेका हुन् भन्ने ठान्थिन् । यसै कारण गान्धारीले श्रीकृष्णलाई उनको सम्पूर्ण कुल नाश भएर जाऊन् भनी श्राप दिएकी थिइन् ।
कुन्ती
कुन्ती वसुदेवकी बहिनी तथा श्रीकृष्णकी फुपू थिइन् । उनको बाल्यकालको नाम पृथा थियो । उनलाई आप्mनो सन्तान नभएका कारण सानैदेखि कुन्तिभोज राजाले पालेका थिए । त्यसैले उनको नाम कुन्ती भएको थियो । पञ्चकन्यामध्ये एक कुन्तीले ऋषि दुर्वासाबाट कुनै पनि देवतालाई बोलाएर नियोगद्वारा सन्तान जन्माउन सक्ने वरदान पाएकी थिइन् । यही विद्याका कारण कुन्ती विवाहअघि नै सूर्यबाट कर्णलाई जन्म दिएकी थिइन् भने विवाहपछि पति पाण्डुकै सहमतिमा धर्मराजबाट युधिष्ठिर, वायुबाट भीम तथा इन्द्रबाट अर्जुन जन्माइन् । कुन्तीले यो विद्या पाण्डुकी दोस्री श्रीमती माद्रीलाई पनि सिकाइदिइन् । फलस्वरूप माद्रीले अश्विनीकुमारलाई बोलाएर नकुल र सहदेव नामका दुई छोरा जन्माइन् ।
द्रौपदी
द्रौपदीको जन्म यज्ञबाट भएको थियो । उनी अयोनिजा हुन् । यज्ञबाट जन्मिएका कारण यिनलाई याज्ञसेनी पनि भनिन्छ । द्रौपदीलाई पञ्चकन्यामध्ये एक मानिन्छ । पुराणानुसार पाँचजना महिला त्यस्ता छन् जो विवाहिता भएर पनि कन्या नै रहे अर्थात् जसलाई कन्यासमान नै पवित्र मानिन्छ । पञ्चकन्या हुन्, अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी ।
भानुमती
काशिराजपुत्री एवं दुर्योधनकी पत्नी भानुमती युद्ध कला, शतरञ्ज एवं कुस्ती खेलमा पारंगत थिइन् । भनिन्छ, एकपटक उनले कुस्तीमा दुर्योधनलाई समेत पछारेकी थिइन् । भानुमती अत्यन्त सुन्दर, आकर्षक, तेज बुद्धि एवं अत्यन्त बलिष्ठ शरीर भएकी थिइन् । दुर्योधनले कर्णको सहायतामा बलपूर्वक भानुमतीसँग विवाह गरेका थिए ।
सत्यभामा
यादव सत्राजितकी पुत्री सत्यभामा भगवान श्रीकृष्णकी पत्नी थिइन् । सत्यभामा अत्यन्त सुन्दर थिइन्, उनले देवमाता अदितिबाट चिरयौवनको वरदान प्राप्त गरेकी थिइन् । उनी राजकार्य एवं राजनीतिमा रुचि लिन्थिन् । कृष्णले नरकासुरसँगको युद्ध सत्यभामाकै सहयोगमा लडेका थिए । सत्यभामाकै कारण पृथ्वीमा पारिजातको रुख पाइन्छ किनभने श्रीकृष्णले सत्यभामाकै आग्रहमा पारिजातलाई स्वर्गबाट पृथ्वीमा ल्याएका थिए ।
हिडिम्बा
राक्षस जातिकी हिडिम्बाले जब भीमसेनलाई देखिन्, पहिलो नजरमै प्रेम गर्न थालिन् । दाजु हिडिम्बले जसलाई मारेर ल्याउन लगाएका थिए उसैसँग प्रेम बसेपछि हिडिम्बा आप्mनो मायाले सुन्दर शरीर धारण गरी भीमका अगाडि गइन् । यो देखेर हिडिम्ब रिसले आगो भयो । युद्धमा भीमले हिडिम्बलाई मारिदिए । भीम र हिडिम्बाको विवाह भयो, विवाहपछि हिडिम्बा आप्mनो वास्तविक स्वरूपमा आइन् । हिडिम्बा र भीमको पुत्र घटोत्कच थियो जो अत्यन्त बलबान् थियो । घटोत्कचको पुत्र बर्बरीक थियो जो एक्लैले महाभारतका सम्पूर्ण योद्धालाई एउटै वाणले मार्नसक्ने सामथ्र्य राख्थ्यो । बर्बरिक कृष्णको छलले मारियो भने घटोत्कच द्रौपदीको श्रापका कारण महाभारत युद्धमा कर्णको हातबाट मारियो ।
उलूपी
अर्जुनकी पत्नी उलूपी मायावी शक्तिसम्पन्न महिला थिइन् । उलूपी नागकन्या थिइन् । उलूपीले नै अर्जुनलाई जलमा हानिरहित रहनसक्ने वरदान दिएकी थिइन् । यसका साथै उनले चित्रांगदा र अर्जुनका पुत्र वभ्रुवाहनलाई युद्धशिक्षा दिएकी थिइन् । महाभारत युद्धमा भीष्म पितामहलाई मारेका कारण श्रापित अर्जुनलाई उलूपीले वभ्रुवाहनको हातबाट मराई पुनःजीवित तथा श्रापमुक्त बनाएकी थिइन् ।
जाम्बवती
श्रीकृष्णकी पत्नी जाम्बवती ऋक्षराज जाम्बवान्की पुत्री थिइन् । जाम्बवान् ब्रह्माका पुत्र तथा रामायण कालका एक प्रमुख योद्धा थिए जो भालु जातिका थिए । जाम्बवतीका पुत्र साम्बका कारण श्रीकृष्णको यादव कुलको समूल विनाश भएको थियो ।
उर्वशी
उर्वशी इन्द्रको दरबारकी एक अत्यन्त सुन्दरी अप्सरा थिइन् । अर्जुन दिव्यास्त्रप्राप्तिका लागि स्वर्ग भएका समयमा उनलाई देख्दा उर्वशी कामान्ध भइन् र अर्जुनसँग प्रणय निवेदन गर्न थालिन् । तर अर्जुनले उनलाई माता मानेको भन्दै प्रणय निवेदन अस्वीकार गरे । यसबाट उनी अत्यन्त क्रोधित भइन् र अर्जुनलाई नपुंसक हुने श्राप दिइन् । पछि इन्द्रको आग्रहमा यो श्राप एक वर्ष आफूले चाहेको समयमा भोग्न पाउने गरी सहुलियतपूर्ण बनाइयो । यही श्रापका कारण अर्जुन एक वर्षसम्म विराट राजाको दरबारमा नपुंसक भएर बसेका थिए ।





























प्रतिक्रिया