गण्डकी प्रदेश : प्रदेश सांसदलाई पनि चाहियो गाडी सुविधा

गण्डकी प्रदेश : प्रदेश सांसदलाई पनि चाहियो गाडी सुविधा

केन्द्रबिन्दु
0
Shares

पोखरा,

गण्डकी प्रदेशका सांसदले आफूहरुलाई पनि गाडी सुविधा चाहिने बताएका छन् । सत्तारुढ नेकपा सांसद आशा कोइरालाले शुक्रबार प्रदेश सभामा बोल्दै प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई पनि सवारी सुविधा चाहिने बताइन् । ‘गाउँ र नगरपालिकाका प्रमुख र उपप्रमुखले सवारी साधनको सुविधा पाइरहेको बेला, वडाध्यक्षहरुले पनि सवारी साधनको सुविधा पाइरहेका बेला के यी जनप्रतिनिधिहरु सुविधाकै कारण आफ्नो भूमिका निर्वाह गर्न बञ्चित हुनुपर्ने हो ?’

जनताका आवश्यकता सम्बोधन गर्न र भूमिकालाई प्रभावकारी बनाउन गाडी सुविधा चाहिने कोइरालाले बताइन् । ‘के आदर्शले मात्रै चल्छ र ?’ उनले भनिन्, ‘प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरुलाई पनि सवारी साधनको सुविधा आवश्यक पर्ने मैले देखेकी छु ।’

प्रदेश सांसदलाई कानुन निर्माताका रुपमा मात्रै नहेरी विकासका कामको अपेक्षा पनि जनताले गरेको कोइरालाले बताइन् । ‘जनताका समस्या जहाँ जति बेला जे पर्छ त्यो बुझ, विकास निर्माणका कामहरु तिमीले गर, योजना बनाऊ, अनुगमन गर,’ उनले भनिन्, ‘त्यो खालको अपेक्षा जनताको छ । त्यही भनेर भोट मागेर निर्वाचित भएर संसदमा सबैजना आउनु भएको छ । जनताको आवश्यकता र चाहना सम्बोधन गर्न र भूमिकालाई प्रभावकारी बनाउन के आदर्शले मात्रै चल्छ र ?

नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठले पनि सबैलाई सुविधा बढाउँदै जाने हो भने प्रदेश सांसदलाई पनि गाडी चाहिने उल्लेख गरे । गण्डकी प्रदेश सरकारले गाउँ र नगर कार्यपालिकाका सदस्यहरुको सुविधा हालै वृद्धि गरेको छ । उपप्रमुख र उपाध्यक्षलाई पनि गाडी सुविधाको निर्णय प्रदेश सरकारले गरेको छ । जनप्रतिनिधिहरुको सुविधा वृद्धि हुँदा संघीयतामाथि नै घृणा पैदा हुने नयाँ शक्तिका सांसद हरिशरण आचार्यले बताए । सांसद ईन्द्रलाल सापकोटाले भने सुविधा वृद्धि गर्दा विचार गर्नुपर्ने विचार व्यक्त गरे ।

पारिश्रमिक तथा सुविधा सम्बन्धी केही प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक सभाले शुक्रबार विधायन समितिमा पठाएको छ । आन्तरिम मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विभाग बनाएर जिम्मेवारी दिँदै जानुपर्ने भएकाले नगर तथा गाउँकार्यपालिका सदस्यको सुविधा वृद्धि गर्नुपरेको जानकारी प्रदेश सभामा दिए ।
अन्नपूर्णबाट

Logo