बेइजिङ । अब नेपालले बेइजिङसहित चीनका १५ सहरमा सिधा उडान गर्न पाउने भएको छ । बेइजिङमा सम्पन्न दुईदिने वार्तापछि शुक्रबार नयाँ हवाई उडान संचालन सम्बन्धमा सम्झौता भएको हो।
पहिले सात सहरमा नेपाललाई उडान अनुमति थियो। अब यसलाई विस्तार गरेर १५ बनाइएको हो। नयाँ सम्झौताअनुसार नेपाल र चीनबीच थप ८ रुटमार्फत हप्तामा ९८ उडान गर्न पाउने छ ।
सन् २०१४ मा नेपाल र चीनबीच दुवै देशले सातामा ५६ वटा उडान गर्ने सम्झौता भएको थियो । एक वर्षभित्रै बढाएर ७० वटा उडान गरे तापनि नेपालले भने चिनियाँ आकाशमा उडान भर्न सकेको थिएन। नयाँ सम्झौताअनुसार नेपालले क्वाङ्चावो (ग्वाङझौ) र पैचिङ (बेइजिङ) का साथै चीनका अरु सहरमा उडान भर्नेछ ।
त्यसैगरी चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा पनि सिधा उडान गर्न सक्ने छ । उनीहरुले त्यहाँ हप्तामा २१ उडान गर्न पाउने व्यवस्था छ। नेपाल-चीन हवाई उडानमा यो सम्झौतालाई निकै महत्वपूर्ण सम्झौताको रुपमा हेरिएको छ।
बेइजिङ, ल्हासा, सांघाई, क्वाङ्चावो, सियान, चेङ्दु, चुङछिङ, खुन्मिङ लगायत विभिन्न १५ गन्तव्यमा नेपाललाई चीनले उडान अनुमति दिने सहमति गरेको बेजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए ।































प्रतिक्रिया