काठमाडौं,
नेपालमा नसर्ने रोगमध्ये सबैभन्दा बढी श्वासप्रश्वास अर्थात् दीर्घ दमरोगका बिरामी रहेको अध्ययनले देखाएको छ । प्रतिसय जनामा ६ जना मानिस दमका रोगी देखिएका छन् भने त्यसपछि मात्र मिर्गौला, मधुमेहलगायतका रोग देखा परेको पाइएको छ । श्वासप्रश्वासपछि दीर्घ मिर्गौला रोगी, मधुमेह र मुटुरोग देखा परेको अध्ययनले देखाएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर नेपालका ७२ जिल्लामा अनुसन्धान गरेको थियो । परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले नसर्ने मुख्य रोगमध्ये सबैभन्दा बढी दीर्घ दमरोग देखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दमपछि मधुमेह, दीर्घ मिर्गौला रोग र मुटुरोग पनि समस्याका रूपमा देखा परेको छ ।”
परिषद्ले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार सबैभन्दा बढी रोगी दमको भएको निष्कर्षसँगै तथ्याङ्क पनि दिइएको छ । प्राप्त तथ्याङ्क अनुसार २० वर्षदेखि ३९ वर्षसम्म ६ दशमलव सात प्रतिशतमा दीर्घ दमरोग रहेको छ । यस्तै ४० देखि ५९ वर्ष समूहका मानिसमा १०.५ प्रतिशत जनसङ्ख्यामा दमरोग रहेको छ । साठी वर्षभन्दा माथिको जनसङ्ख्यामा भने २१.५ प्रतिशतमा दमरोग देखिएको छ । नेपालमा मधुमेहका रोगी पनि बढेका छन् ।
परिषद्का अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले आठ दशमलव पाँच प्रतिशत जनसङ्ख्यामा मधुमेह (चिनीरोग) देखिएको बताउनुभयो । “खानपान र अस्वस्थकर जीवनशैलीले नसर्ने रोगमा चिनीरोग बढेको छ । यसलाई नियन्त्रण गर्न रोकथाममा लगानी बढाउनु जरुरी छ”, उहाँले भन्नुभयो ।
परिषद्का अनुसार नेपालमा मिर्गौला रोगी पनि बढेका छन् । तथ्याङ्क अनुसार पुरुषमा ६ दशमलव पाँच प्रतिशत र महिलामा पाँच दशमलव सात प्रतिशत दीर्घ मिर्गौला रोगका बिरामी देखिएका छन् । परिषद्का अनुसन्धान प्रमुख डा. धिमाल भन्नुहुन्छ, “उमेरको वृद्धिसँंगै मिर्गौला रोगको प्रकोप बढिरहेको छ ।” कृषि र व्यापार गर्नेलाई ४ दशमलव छ प्रतिशत र घरायसी कामदारमा ७ दशमलव दुई प्रतिशत मिर्गौलाको समस्या रहेको छ । मिर्गौलाका रोगी सबैभन्दा बढी गण्डकी प्रदेशमा ६ दशमलव आठ प्रतिशत रहेका छन् ।
गोरखापत्रबाट





























प्रतिक्रिया