ईरानले होर्मुजको खाडी बन्द गरे नेपालमा कस्तो असर पर्ला ?

ईरानले होर्मुजको खाडी बन्द गरे नेपालमा कस्तो असर पर्ला ?

केन्द्रबिन्दु
0
Shares

– दीपक दर्शन

एकातिर ईरान अनि अर्कातिर ओमान र यूएईको बीचमा अवस्थित होर्मुजको खाडी संसारकै सबभन्दा महत्वपूर्ण एवं सामरिक महत्वको समुद्री मार्ग हो । वर्तमानमा ईरान र अमेरिकाबीच तनाव बढेको तथा भर्खर बेलायतसमेत थपिएका कारण यसको महत्व अझ बढेको छ ।ईरान, अमेरिका र उसका सहयोगी देशहरूका बीच तनावको केन्द्र अब होर्मुजको खाडी बनेको छ ।

तनावको शुरुवात गत वर्ष भयो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ईरानसँग भएको परमाणु सम्झौताबाट अलग्याए ।
ट्रम्पले सम्झौता तोड्दै भनेका थिए कि यो ईरानको हितका लागि हो । ट्रम्पले गत वर्ष नोभेम्बरमै ईरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाइदिए । यसपश्चात् लगातार दुई देशको सम्बन्धमा तनाव बढ्दै गइरहेको छ ।

ट्रम्पको भनाइमा ईरान आतंकवादी राष्ट्र हो र अमेरिका ऊसँग सम्झौता गर्दैन । त्यसैगरी ईरानका सर्वोच्च नेता एवं धर्मगुरु आयातोल्लाह खुमेनीले भने कि हामी न अमेरिकामाथि भरोसा गर्छौँ न कहिल्यै गर्नेछौँ ।

यसै वर्ष अप्रिलमा ट्रम्पले भने, जुन जुन देशले ईरानसँग व्यापार गर्छन् ती सबैमाथि अमेरिकी प्रतिबन्ध लाग्नेछ । यसै दौरान अमेरिकाले ईरानलाई तर्साएर ऊमाथि दबाब बढाउन आफ्नो युद्धपोत अब्राहम लिंकन होर्मुज खाडीका नजिक पठाएको छ ।

अहिले होर्मुजमा अब सैन्य गतिविधिहरूमा बढोत्तरी भएको छ । यसै खाडीबाट गत शुक्रबार ईरानले बेलायती तेल ट्याङ्कर कब्जामा लिएको छ ।

ईरानको यो कारबाहीपछि ईरानको विरुद्धमा बेलायत पनि देखिने गरी उत्रेको छ र ईरानले यो कार्यको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

किन महत्वपूर्ण छ होर्मुजको खाडी ?

होर्मुजको खाडीमा एकातर्फ अमेरिका समर्थक अरब देश छन् भने अर्कातर्फ ईरान । ओमान र ईरानका बीच केही क्षेत्रमा यो खाडी केवल २१ नटिकल माइल वा ३९ किलोमिटर फराकिलो छ । यहाँ दुई समुद्री मार्ग छन् । एउटा जहाजहरू जानका लागि र अर्को आउनका लागि, वा भनौं एकतर्फी मार्ग छ ।

हुन त यो खाडी ठूला जहाजका लागि निकै साँघुरो छ तापनि यो यति गहिरो छ कि यहाँबाट संसारका सबैभन्दा ठूलो जहाज र तेर ट्याङ्कर सजिलैसँग पार हुनसक्छन् ।

मध्यपूर्वबाट निस्कने तेल होर्मुजकै बाटो एसिया, युरोप, अमेरिका र संसारका अन्य बजारसम्म पुग्छन् । यो खाडीबाट दैनिक एक करोड ९० लाख ब्यारेल तेल बाहिरिन्छ । यो कच्चा तेलको मात्रा संसारको तेल ब्यापारको २० प्रतिशत हो । अर्थात् यहाँ एकै समयमा सबैभन्दा बढी कच्चा तेल जम्मा हुन्छ ।

यसको तुलनामा स्वेज नहरबाट ५५ लाख ब्यारेल र मलक्काको खाडीबाट एक करोड ६० लाख ब्यारेल तेल दैनिक बाहिरिन्छ ।
ईरानले पनि यसै मार्गबाट आफ्नो तेल संसारको बजारमा पठाउँछ । वर्ष २०१७ मा ईरानले ६६ अरब डलरको कच्चा तेल यसै मार्गबाट पठाएको थियो ।

अहिले आफ्नो तेल सहज रूपमा बिक्री गर्न नपाइरहेको अर्थात् प्रतिबन्ध लागेको अवस्थामा ईरान बेखुसी हुनु स्वाभाविकै हो । र ऊसँग भएको एक मात्र तुरुपको एक्का भनेको होर्मुजको खाडी नै हो ।

ईरानका राष्ट्रपति हसन रूहानीले भनेका थिए, ‘कुनै दिन अमेरिकाले ईरानको तेल बिक्री गर्न रोक्ने कोसिस गरेको अवस्थामा फारसको खाडीबाट कुनै पनि देशको तेल निर्यात हुन पाउने छैन ।’

आफूमाथि चर्को अन्तर्राष्ट्रिय दबाब परेको अवस्थामा ईरानले बारम्बार दिने धम्की भनेकै होर्मुजको खाडी बन्द गरेर यहाँबाट हुने तेल निर्यात रोकिदिन्छु भन्ने हो ।

के ईरान यो खाडी बन्द गर्न सक्षम छ ?

१९९० को दशकमा भएको ईरानइराक युद्धमा यो मार्गबाट आवतजावत गर्ने तेल ट्याङ्करहरू ठूलो संख्यामा निशाना बनाइएका थिए ।
दुवै देशले एकअर्काको तेल निर्यात बन्द गराउने कोसिस गरेका थिए । उक्त युद्धमा इराकलाई अमेरिकी समर्थन प्राप्त थियो ।
उक्त युद्धलाई ट्याङ्कर युद्ध पनि भनिएको थियो । त्यतिबेला २ सय ४० भन्दा बढी तेल ट्याङ्कर हमलाको सिकार भएका थिए जसमध्ये ५५ वटा पूरै डुबेका थिए ।

जब ईरानले यो बाटोबाट तेल निर्यात हुन दिन्नौँ भन्छ भने त्यसको मतलब पक्कै पनि यहाँ आवतजावत गर्ने जहाजहरू असुरक्षित हुन्छन् नै । ईरानले बाटो रोक्नका लागि यहाँ जहाजरोधी बारूदी सुरुङहरू, मिसाइलहरू, पनडुब्बीहरू तथा तीव्र गतिका सैन्य डुंगाहरू तैनाथ गर्नसक्छ । यसरी ईरानले भनेअनुसार गरेको अवस्थामा यहाँबाट हुने तेल निर्यात अवश्यै प्रभावित हुन्छ र यसको सीधा असर संसारकै अर्थव्यवस्थामा पर्छ ।

तेलका लागि पूर्णतः अरूमाथि नै भर पर्नुपर्ने नेपालजस्ता मुलुकहरूले महँगो तेल किन्नका लागि ठूलो धनराशि चुकाउनुपर्छ । यसले गर्दा अर्थतन्त्रको सन्तुलनमा गडबडी पैदा हुन्छ । तेलको भाउ बढ्नासाथ अन्य आम उपभोग्य वस्तुको मूल्य पनि वृद्धि हुन्छन् । यसको सीधा अर्थ होर्मुजको खाडीमा हुने गम्भीर तनावको असर त्यहाँबाट निकै टाढा रहेका नेपालजस्ता मुलुकका आम मानिसहरूको जीवनमा समेत पर्छ ।
तर योभन्दा पनि ठूलो प्रभाव के हुन्छ भने ईरानले होर्मुजको खाडी बन्द गरिहालेको अवस्थामा अन्तर्राष्ट्रिय समुदायले यसलाई युद्धको घोषणा मान्नसक्छ । त्यसपश्चात् स्थिति झनै भयावह बन्नसक्छ ।

यद्यपि ईरानले के कुरामा जोड दिएको छ भने ऊ कुनै पनि हालतमा युद्ध चाहँदैन । र, उता अमेरिकी राष्ट्रपतिले पनि ईरानसँग युद्ध नहुने आशा गरेका छन् । तर ईरानलाई एक्ल्याएर कोठामा बिरालो थुनेर पिट्न खोजेजस्तो गरेमा त्यसको नतिजा के हुन्छ भन्ने अनुमान अहिल्यै लगाउन गारो हुन्छ ।

होर्मुजमा विकसित तनावपूर्ण घटनाक्रम

गत शुक्रवार अमेरिकाले खाडी क्षेत्रमा आफ्नो युद्धपोतले एक ईरानी ड्रोन खसालेको दाबी गरेको थियो । जब कि ईरानले यो कुराको खण्डन गरेको थियो । शुक्रवार नै ईरानले बेलायती तेल ट्याङ्कर ‘स्टेना इम्पेरो’ कब्जामा लियो ।

यसअघि यसै महिना जिब्राल्टरको खाडीमा बेलायती सुरक्षा बलले एक ईरानी तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो । ईरानको अनुरोधका बाबजुद बेलायतले उसको ट्याङ्कर छाड्न नमानेपछि त्यसैको प्रतिक्रियास्वरूप ईरानले पनि बेलायती ट्याङ्कर नियन्त्रणमा लिएको प्रस्ट हुन्छ ।

त्यसैगरी १३ जूनमा ईरानको तटीय क्षेत्रनजिक भएको हमलामा दुईवटा तेल ट्याङ्करमा क्षति पुगेको थियो जसमध्ये एउटा जापानी थियो ।
ओमानको खाडीमा तेल ट्याङ्करमा फ्रन्ट अल्टेयरमा आगो लाग्यो । ईरानी डुंगाहरूले त्यसलाई निभाउने प्रयास गरेका थिए । संयुक्त अरब इमिरेट्स र ईरानको बीच समुद्रमा उक्त जहाजमा तीनपटक ठूलो धमाका भएको थियो ।

अमेरिकाले त्यसको दोष ईरानमाथि लगाएको थियो भने साउदी अरबले उक्त हमलाको ठोस जवाफ दिने बताएको थियो । ईरानले गत २० जूनमा खाडी क्षेत्रमै एउटा अमरीकी ड्रोन खसालेको थियो । डोनल्ड ट्रम्पले त्यसको बदला लिनका लागि ईरानमाथि हमलाको आदेश दिएका थिए जसलाई अन्तिम समयमा आएर फिर्ता लिइएको थियो भन्ने समाचारहरू पनि आएका थिए ।

डराउनुपर्ने कारण

खास कुरा के भने अहिले होर्मुजको खाडी त्यस्तो विस्फोटको केन्द्र बन्न पुगेको छ जहाँ कुनै पनि पक्षबाट भएको सानो गल्तीले भयंकर रूप धारण गर्नसक्छ अनि सो क्षेत्रमा युद्धको नयाँ मोर्चा खोलिनसक्छ ।

अमेरिकाले कडा आर्थिक प्रतिबन्ध लगाएका कारण ईरानी अर्थव्यवस्था नराम्रोसँग चर्मराएको छ । अर्कातिर उसका अगाडि जसरी हुन्छ अमेरिकी र उसका सहयोगी विशेष गरी इजरायल र साउदी अरबको प्रतिकार गरेर खाडी तथा मध्यपूर्वमा आफ्नो प्रभाव कायम राखिरहनुपर्ने चुनौती छ । यसकारण ईरान चाहेर पनि चुप लागेर बस्न सक्दैन ।

एक्लो ईरानले यो क्षेत्रलाई पूरै बन्द गर्न त नसक्ला तर पनि असुरक्षित तुल्याउन भने पक्कै सक्छ । आफूबाट सबैभन्दा धेरै तेल आयात गर्ने चीन अनि पुरानो सहयोगी रुसको साथ पाएको खण्डमा अमेरिका र उसका समर्थकहरूले पनि इरानलाई सहजै दबाउन सक्ने छैनन् । तसर्थ यो क्षेत्रमा तनाव भइरहेको अवस्थामा विश्वव्यापी रूपमै तेलको संकट पर्नेछ । जापानी, कोरियाली, भारतीय र युरोपेली अर्थतन्त्र यसको चपेटामा आउनेछन् । यी सबैको असर नेपालले पनि नबेहोरी सुख पाउने छैन ।

Skip This
Skip This
Logo