त्रिपुरेश्वर आँखा अस्पतालबाट उपचार नपाएर फिर्ता जान पर्दैनः डा पोखरेल

त्रिपुरेश्वर आँखा अस्पतालबाट उपचार नपाएर फिर्ता जान पर्दैनः डा पोखरेल

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

अस्पतालले गत आर्थिक वर्ष २०७९-८० मा ११ हजार जनाको शल्यक्रियासहित एक लाख ५४ हजार बिरामीलाई बहिरङ्ग सेवामार्फत आँखासम्बन्धी सबै खाले उपचार प्रदान गरेको थियो। आगामी चार वर्षभित्रमा निर्धारित लक्ष्य हासिल हुने गरी सेवालाई थप गुणस्तरीय, चुस्त र प्रभावकारी तुल्याइने उक्त अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले बताए।

उक्त अस्पतालले उक्त आवमा सेवाग्राहीलाई रु एक करोड १६ लाख मूल्य बराबर विभिन्न छुटसहित निःशुल्क उपचार सेवासमेत उपलब्ध गराएको थियो। त्यसअवधिमा अस्पतालले विभिन्न शिविर र दृष्टि केन्द्रमार्फत २७ हजार २०० जना बिरामीको निःशुल्क आँखा परीक्षण, शल्यक्रिया र औषधि वितरण गरेको अध्यक्ष डा पोखरेलले जानकारी दिए।

उक्त कार्यका लागि अस्पतालले रु २७ लाख २०० खर्च व्यहोर्नुपरेको थियो। अस्पतालले विद्यालय आँखा कार्यक्रमअन्तर्गत सो अवधिमा एक हजार ७२१ जना ग्रामीण समुदायका विद्यार्थीलाई पठन-पाठनका लागि आवश्यक पर्ने चश्मा पनि निःशुल्करुपमा उपलब्ध गराएको थियो। त्यस आवमा १४ हजार ९९४ विद्यार्थीको आँखा परीक्षण गरेको अस्पतालले जनाएको छ। अस्पतालले गत आवमा सिमरा र गोरखा जिल्लामा समुदाय लक्षित गरी सञ्चालन गरेको आँखा शिविरमा एक हजार तीन सय १४ जनाको निःशुल्क शल्यक्रिया गराएको थियो।

त्यस कार्यका लागि रु ५२ लाख ५६ हजार खर्च लागेको अस्पतालले जनाएको छ। उक्त आवमा स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ता गरी ४७३ जनालाई अस्पतालले तालिम प्रशिक्षणसमेत प्रदान गरेको छ। गत आवमा उपचार गर्न आउने बिरामीलाई अस्पतालले विभिन्न सहुलियत प्रदान गर्ने क्रममा रु २९ लाख ९५ हजार मूल्य बराबरको सेवामा आर्थिक सहायता छुट प्रदान गरेको छ।

अस्पतालले जनताको कमजोर आर्थिक पाटोलाई दृष्टिगत गरी सुलभअर्थात् रु १०० मा ओपिडी उपचार सेवा प्रदान गर्दैआएको छ। जिल्लाबाट रिफर भई आउने तथा जटिल खाले रोग लागेका तर आर्थिक हिसाबले विपन्नलाई अस्पतालले उपचारमा विशेष सहुलियत प्रदान गर्दैआएको छ। त्यस्ता विभिन्न बिरामीलाई सेवा र आवश्यकताअनुरुप छुटको व्यवस्था गरिएको छ। अस्पतालमा हाल सातामा १८० देखि दुई सयसम्म शल्यक्रिया हुने गरेको छ।

अस्पतालले मुुलुकका विभिन्न भागमा आँखा शिविर सञ्चालन गरी वार्षिकरुपमा रु ८६ लाख मूल्य बराबर सहयोग पु¥याएको छ। त्यस क्रममा अघिल्लो वर्ष शिविरमार्फत २७ हजार २०० बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो। अस्पतालले पछिल्लो समय मेसिनको अभावमा चश्मा नलगाउन पर्ने शल्यक्रियाबाहेक आँखासम्बन्धी सबै उपचार सेवा उपलब्ध गराउँदैआएको छ।

सेवाको गुणस्तर अभिवृद्धिका साथै सेवा विविधीकरणका हिसाबले फड्को मार्नेअर्थात् स्तरोन्नतिका लागि कोसिस गरिरहेको छ। उपत्यकाभित्रका कुनै अस्पतालमा नभएको ब्रेनले काम नगरेर आँखा नदेखेको हो कि आँखा रोगकै कारण नदेखेको हो भन्ने यकिन गर्ने मेसिनसमेत त्यस अस्पतालमा उपलब्ध छ।

अध्यक्ष डा. पोखरेल भन्छन्, “अरुका तुलनामा धेरै सस्तो र गुणस्तरीय सेवा तथा ठाउँका हिसाबले सबैलाई आउन जान सजिलो भएका कारणले पनि आँखा अस्पताल सेवाग्राहीको रोजाइमा पर्दैआएको छ।” अस्पतालको हाल दैनिक सरदर सात सयसम्म बिरामीको भार थेग्ने क्षमता छ।

जन्मजात बच्चामा आँखाको पर्दामा हुने रोगको उपचार प्रणालीगत हिसाबले कुनै अस्पतालले नगरिरहेको अवस्थामा नेपाल आँखा अस्पतालले परोपकार प्रसूति अस्पतालमा विशेषज्ञ खटाएर परीक्षण गर्ने र अस्पतालमा ल्याएर उपचार गर्ने गर्दैआएको छ।

अस्पताल प्राङ्गणमा आएका कुनै पनि बिरामी पैसाको अभावमा उपचार नलिई फिर्ता नजाउन भन्नेमा अस्पतालको सामूहिक प्रतिबद्धता र विचार भएकाले त्यसप्रति सजग र सचेत रहेको डा पोखरेल बताउँछन्।

“पैसा छैन भनेर मेरो उपचार भएन भनेर कोही त्यसै फिर्ता जानुपर्दैन, त्यस्ता बिरामीलाई हामी सहुलियत र निःशुल्कै पनि सेवा उपलब्ध गराउन सक्छौँ”, डा पोखरेल भने। राज्यले विपन्न तथा आर्थिक अभाव झेल्न परेका त्यस्ता व्यक्तिलाई गरिब परिचयपत्र उपलब्ध गराएमा पहिचान गरी सेवा दिन सहज हुने उहाँको सुझाव र बुझाइ छ।

Logo