ढुवानी ठप्प पार्न बाध्य पार्ने भीसीटीएस प्रणाली खासमा के हो ?

ढुवानी ठप्प पार्न बाध्य पार्ने भीसीटीएस प्रणाली खासमा के हो ?

केन्द्रबिन्दु
0
Shares

  • रामजी बलामी- 

‘भीसीटीएस डिजिटल नेपालकै एउटा उपक्रम हो, यस प्रणालीको सुरुवातबाट देशभित्रको आर्थिक कारोवार व्यवस्थित हुनेछ र कारोवारको पूर्ण अभिलेख तयार हुन्छ । स्वच्छतापूर्वक कारोवार गर्नेलाई यस प्रणालीको सुरुवातले उत्साहित बनाउने विश्वास मैले लिएको छु ।’ गत साउन १ गते भीसीटीएस प्रणाली शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका अभिव्यक्ति हुन् यी ।

तर, भीसीटीएस प्रणाली लागू भएकै दिनदेखि मालवाहक यातायात व्यवसायी आन्दोलित छन् । आन्दोलनका कारण सामग्री ढुवानीमा परेको प्रभावले बजारमा विभिन्न सामग्रीहरूको अभाव देखिन थालेको छ । सरकारले लागू गरेको यो व्यवस्था नेपालको भौगोलिक संरचना, उपलब्ध सूचना प्रविधि, जनशक्ति आदिका कारण उपयुक्त नहुने व्यवसायीहरूको धारणा छ ।

शुक्रबार यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरूको संयुक्त स्वतन्त्र संघर्ष समितिले ढुवानी भाडामा मूल्य अभिवृद्धि कर (भ्याट) र भिसिटिएस प्रणाली तत्काल लागू गर्न नसकिने भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन् । “हाम्रो माग सुनुवाई नभएको अब हामी गाडी थन्क्याएर बस्छौं’ समितिका संयोजक गोकर्ण पराजुलीले भने ।

सरकारले अनलाइनमा आधारित यो अनुगमन प्रणाली गत साउन १ गतेदेखि लागू गरेको भए पनि आगामी तीन महिना ‘ट्रायल पिरियड’ का रूपमा रहने घोषणा गरेको छ । तीन महिनाभित्र सबै व्यवसायी अनलाइन सिस्टमभित्र आइसक्नुपर्ने बताउँछन् राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली ।

भिसीटिएस अन्तर्गत के के गर्नुपर्छ ?

भीसीटीएसको पूर्ण रूप भेहिकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम अर्थात् मालवस्तु तथा ढुवानी अनुगमन प्रणाली हो । यो अनलाइनमा आधारित अनुगमन प्रणाली हो । यो प्रणालीअन्तर्गत आइसकेपछि कुनै पनि ठूला व्यवसायीले एक स्थानबाट अर्काे स्थानमा मालसामान ढुवानी गर्दा केन्द्रीय सूचना प्रणालीमा विवरण भर्नुपर्छ ।

यस प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु एक स्थानबाट अर्को स्थानसम्म थोकमा कारोबार गर्नेले आन्तरिक ओसारपसार गर्दा ढुवानी साधन र मालसामानको संक्षिप्त विवरण प्रविष्टि गर्नु पर्दछ । आयातको हकमा आयातकर्ता वा भन्सार एजेन्टले भन्सार विन्दुमा नै प्रविष्टि गर्नु पर्दछ । त्यस्तै ढुवानी सेवा सञ्चालन गर्ने कम्पनी मार्फत ढुवानी गर्ने थोकस्तरको बिक्रीको प्रविष्टि ढुवानी कम्पनीले गर्नु पर्दछ । यसैगरी उद्योगी, वितरक वा थोक विक्रेताले सोझै आफैंले मालवस्तु आफ्नो कारोवारको स्थलबाट सोझै बिक्री गरी पठाउँदा मात्र यो प्रणालीमा प्रविष्टि गर्नु पर्दछ ।

ककसले भर्नु पर्दैन ?

यो व्यवस्था सबै व्यवसायीका लागि लागू हुँदैन । उद्योगी, वितरक वा थोक बिक्रेताले आफ्नो उद्देश्य अनुरूप उपभोक्तालाई खुद्र स्तरमा बिक्री गर्दा यो प्रणालीमा प्रविष्टि गर्नु पर्दैन । तर स्वेच्छिक रूपमा भने प्रविष्टि गर्न सकिन्छ । खुद्रास्तरको व्यवसाय गर्नेहरुले पनि यो प्रणालीमा प्रविष्टि गर्नु पर्दैन । उद्योगले कृषकबाट कच्चा पदार्थ जस्तै धान, गहुँ, मकै, उखुजस्ता वस्तु सीधै खरिद गर्दा यसमा प्रविष्टि गर्नु पर्दैन । त्यसैगरी दुर्गम भेगका साना व्यवसायीलाई पनि यो प्रणालीमा छुट दिइएको छ ।

यो प्रणाली लागू गरेपछि के के गर्नु पर्दैन ?

भीसीटीएस प्रणाली प्रयोग गरेवापत कुनै शुल्क वा रकम बुझाउनु पर्दैन । यो प्रणाली लागु भएपछि हाल राजस्व अनुसन्धान कार्यालयका चेकपोष्टहरूमा मेनिफेष्टो तथा विलविजकको फोटोकपी बुझाउनु पर्दैन । चलानबाट मालवस्तु पठाउँदा यो प्रणालीमा प्रविष्टि गरे पुग्छ, आन्तरिक राजस्व कार्यालयमा चलान बुझाउनु पर्दैन । त्यसैगरी राजस्व चुहावट गर्नेलाई जरिवाना गर्ने कानुनी अधिकार महानिर्देशक, राजस्व अनुसन्धान विभागलाई मात्र भएकाले विना कारण दण्डजरिवाना हुन्छ भन्ने समस्या पनि रहँँदैन ।

नभरे के हुन्छ ?

कसैले यो नियमको वेवास्ता गरेको पाइए राजस्व चुहावट ऐन २०५२ बमोजिम पहिलो पटक ५० हजार रुपैयाँसम्म जरिवाना र दोस्रोपटकदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

कसरी भर्ने ?

यो अनलाइन प्रणाली हो । त्यसैले आफ्नो मालसामान ढुवानी गर्नुपूर्व यो प्रणालीमा प्रविष्टि गर्नुपर्छ । त्यसका लागि युजर आईडी र पासवर्ड लिनुपर्छ । युजर आईडी र पासवर्ड लिन कुनै निकायमा धाइरहनु पनि पर्दैन । घर अथवा कार्यालयमै बसेर राजस्व कार्यालयको वेबसाइटमा गई युजर आईडी र पासवर्ड लिन सकिन्छ ।

यसको प्रर्योग गर्ने तरिका तल प्रस्तुत गरिएको छ ।

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/User-Manual-DRI-Version-1_0.pdf& title=”User Manual DRI – Version 1_0″]

 

Logo