बस पल्टिँदा दुई जनाको मृत्यु , १९ घाइते

बस पल्टिँदा दुई जनाको मृत्यु , १९ घाइते

केन्द्रबिन्दु
0
Shares

उर्लाबारी,

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा विहिबार बस पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिँदा बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

वतन नखुलेको पुरुषको घटनास्थलमा नै मृत्यु भएको थियो भने बसका सह–चालकको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । दुर्घटनाका घाइते पाँच जनाको न्यूरो अस्पताल विराटनगरमा, आठ जनाको मोरङ डाइनेष्टिक अस्पताल पथरीमा र छ जनाको पथरी अस्पताल पथरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर दुई जनाको मृत्यु

यता भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय निमा शेर्पा र सोही स्थानका २० वर्षीय गेल्बु शेर्पाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । मङ्गलबार घरबाट घुम्न भनेर निस्केका दुई जना पानी जमाएर राखिएको पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo