टेकु पुल भत्काएर नयाँ बनाउन निर्देशन

टेकु पुल भत्काएर नयाँ बनाउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पप्पु कन्स्ट्रक्सनले बनाएको टेकुस्थित विष्णुमती पुल भत्काउनु पर्ने भएको छ । चिनियाँ जेट आईईसी–पप्पु जेभीद्वारा बनाइएको टेकु पुलमा इन्जिनियर (परामर्शदाता) को निर्देशन र ठेक्का मापदण्ड अनुसार निर्माण नगरिएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले पुल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता सुदर्शन कार्कीका अनुसार निर्माणकार्यमा गरिएको त्रुटि सच्चाएर पुल बनाउन आग्रह गरिएको छ । ‘खरिद सम्झौता अनुसार पुल निर्माण भएको छ । गुणस्तरीय सामग्री प्रयोग नगरी पुल निर्माण गरिएको छ’, कार्कीले भने, ‘ठेक्का सम्झौता अनुसार पुलको भार क्षमता छैन ।’

ठेक्का शर्तमा उल्लेख गरे भन्दा फरक तरिकाले निर्माण भएको संरचना भत्काइ सुुधार गर्न सडक डिभिजन कार्यालय काठमाडौंले निर्माण कम्पनीलाई मंगलबार सार्वजनिक सूचना जारी गर्दै एक साताको समय दिएको छ । उक्त अवधिभित्र निर्माण गरिएको संरचना भत्काइ ठेक्का शर्त अनुसार नबनाए ठेक्का तोडिनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको तत्कालीन दिगो सहरी विकास आयोजनाले २० करोड १३ लाख रुपैयाँमा पुलको ठेक्का लगाएको थियो । निर्माण कम्पनीले १३ करोड ९२ लाख रुपैयाँमा मात्र भुक्तानी पाएको छ । दिगो सहरी विकास आयोजना र निर्माण कम्पनीबीच २०७१ असारमा ६० मिटर लामो पुल निर्माण गर्ने सम्झौता भएको थियो । पुल बनाउने क्रममा निर्माण कम्पनीले परामर्शदाता र आयोजनालाई बेवास्ता गर्दै कमसल सामग्री प्रयोग गर्दै आएको थियो । निर्माण कम्पनीले पिलर निर्माणदेखि नै ठेक्का सम्झौता विपरीत पुल बनाउँदै आएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo