कृष्णसिंह धामी ।
काठमाडौं । बुढानिलकण्ठकी २४ वर्षीया अमृता कुँवरले गत शुक्रबार राति विदेशमा रहेका श्रीमानसँग भिडियो कल गरिन् । भिडियो कल गर्दै उनले श्रीमानलाई ‘म आत्महत्या गर्दैछु’ भन्दै धम्की दिईन् । धम्की दिएको केही समयमै उनले राति आफ्नै कोठामा विष सेवन गरेर आत्महत्या गरिन् । विष सेवन गर्नुका साथै आफ्नै कोठाको झ्यालको रेलिङमा झुण्डिईन् । त्यो कतारमा रहेका श्रीमान राजन कुँवरलाई भिडियोमा लाईभ देखाईन् । तर सात समुन्द्र पारी रहेका राजनले नत श्रीमतीलाई बचाउन सके नत घरका अन्य सदस्यलाई श्रीमतीको उद्दारका लागि मद्दत माग्न सके । उनले अन्ततः श्रीमानलाई नै देखाएर आफ्नो प्राण त्याग गरिन् ।
चार वर्षअघि काठमाडौंको बुढानिलकण्ठका २७ वर्षीय राजनसँग विवाह गरेकी अमृता फ्युजन बोर्डिङ स्कूलमा पढाउँदै आएकी थिईन् । रुकुमको आठबिसे माईती भएकी अमृता सासु, ससुरासँगै बस्दै आएकी थिईन् । उनले विषसँगै घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टले पनि विष सेवन गरेर आत्महत्या गरेको देखाएको महाराजगञ्ज प्रहरी वृतका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।
उनले विष सेवन गरेर आत्महत्या गरेको भए अब एउटा गम्भीर प्रश्न खडा भएको छ, विष सेवन गरेको व्यक्ति कसरी झ्यालको रेलिङमा झुन्डिन पुगिन् ? प्रहरीले आत्महत्या र हत्या दुवै कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । अमृताका माईतीले हत्या गरेको भन्दै प्रहरीमा श्रीमान तथा सासु, ससुराविरुद्ध जाहेरी दिएका छन् । माईतीपक्षको जाहेरीका आधारमा अमृतमा श्रीमान राजन यतिबेला प्रहरी हिरासतमा छन् । घटनापछि उनी नेपाल आएका थिए । नेपाल आएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
माईतीपक्षले भने विष सेवन गराएपछि झ्यालमा झुण्डाएको आरोप लगाएका छन् । बिष जब शरिरमा प्रवेश गर्छ तब मान्छे उठ्न सक्दैन्, भन्दै माईती पक्षले हत्या गरेको दाबी गरेका हुन् । प्रहरी समक्ष राजनले आत्महत्या गर्दाको केही तस्बिर उपलब्ध गराएको एसपी प्रसाईको भनाई छ । ‘आत्महत्या गर्दा दुवै जनाबीच भिडियो कल भएको देखिन्छ । अमृताले आत्महत्या गर्दैछु भन्दै श्रीमानलाई केही तस्बिर पनि पठाएका रहेछन् । हामीले दुवै जनाको मोवाईल पनि चेक गरेका छौं ।’ एसपी प्रसाईले भने ।
विष सेवन गरेको व्यक्ति झ्यालको रेलिङमा कसरी झुण्डिन पुग्यो भन्ने प्रश्नमा एसपी प्रसाई भन्छन्, ‘पोस्टमार्टम रिपोर्टले विष सेवन गरेर नै आत्महत्या गरेको देखाएको छ । अब त्यो बारे थप अनुसन्धान भईरहेको छ । अहिले यहि नै हो कारण भन्न सक्ने अवस्था छैन् ।’
उनका श्रीमान कतार एयरवेजमा काम गर्दै आएका थिए । प्रहरीमा उजुरी दिन जाँदा आफुहरुमाथि ज्यादती गरेको माईती पक्षले आरोप लगाएका छन् । अमृताले आत्महत्या गरेको नभई घर परिवार मिलेर हत्या गरेको दाबीसहित माईतीपक्षमाथि प्रहरीले हस्तक्षेप गरेको उनीहरुको दाबी छ ।





























प्रतिक्रिया