सन्तोष शाह, जसले विश्वमा चिनाए नेपाली खाना

सन्तोष शाह, जसले विश्वमा चिनाए नेपाली खाना

केन्द्रबिन्दु
0
Shares

लण्डन।

बीबीसी वानबाट प्रशारित मास्टरसेफः द प्रोफेसनल्स् २०२० को अन्तिम प्रतिस्पर्धामा उपाधि नजिते पनि संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्ने नेपालका सन्तोष शाहले निर्णायकसहित सम्पूर्ण नेपालीको मन जित्न सफल भएका छन् । बेलायतको समय अनुसार विहीबार राति भएको अन्तिम प्रतिस्पर्धामा शाह र नेदरल्याण्डका वार्ट भान डर लीलाई पछि पार्दै बेलायतका २५ वर्षीय एलेक्स वेब मास्टर सेफको विजेता बन्न सफल भएका हुन् ।

हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा सहभागी ३२ व्यवसायिक सेफमध्ये तीन जनाले अन्तिम प्रतिस्पर्धामा आफ्नो स्थान बनाउन सफल भएका थिए । नेपाली ढाकाटोपीमा देखिएका ३५ वर्षीय शाहले अन्तिम प्रतिस्पर्धामा चरेसको थालमा राँगाको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार पस्किएका थिए ।

प्रतियोगिताका विभिन्न चरणमा शाहले योमरी, क्रिस्पी, चिकेन चिल्ली, सी विडको अचार, भेजिटेबल अचार, खरायोको मासु, कोदोको खीर, आँपको कुल्फी, आँपको अमौरा बनाएर निर्णायकको मन जितेका थिए । सेमिफाइनलको पछिल्लो चरणमा शाहले नेपालको हिमाली खानाबाट प्रेरित रोस्टेड काँक्राको बियाँ, प्याजको अचार, स्याउको चट्नी लगायतका परिकार बनाएका थिए । यसैगरि विभिन्न चरणमा सिस्नो र आलुको तरकारी, बेथेको साग, भाङको चट्नी मकैको रोटी, तामाको अचार जस्ता नेपालका मौलिक खानाका परिकार पस्किएका थिए ।

शाहसँग लण्डनका चर्चित सेफहरूसँग प्रशिक्षण लिनुका साथै सँगै काम गरेको अनुभव छ । नेपालको सिरहा जिल्लाको कर्जन्हा घर भएका शाह सानो उमेरमै कामको खोजीमा भारत गएका थिए ।

भारतको गुजरातमा किचन पोर्टरबाट शुरु भएको उनको सङ्घर्ष भारतको पाँचतारे होटल हुँदै एक दशक अघि लण्डनका चर्चित रेष्टुरेन्टसम्म पुगेको हो । हाल उनी लण्डनको एक रेष्टुरेन्टमा हेड सेफका रूपमा कार्यरत छन् । प्रतियोगिताको फाइनलमा पुगेका अर्का प्रतिस्पर्धी ली लण्डनमै सेफको रूपमा कार्यरत छन् ।

प्रतियोगितामार्फत नेपालका विभिन्न परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचत गराउन आफू सफल भएको शाहले बताए ।गोरखापत्रबाट

Logo