काठमाडौं ।
पार्टीभित्रको विवाद चुलिँदै गइरहेका बेला सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।
उनीहरुले शुक्रबार नेता पौडेललाई भेटेको बताइएको छ । यद्यपी दुबै पक्षले भेटलाई गोप्य राखेका छन् । नेकपाको विवाद पार्टी फुटसम्म जान सक्ने आशंकाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट समूहका शीर्ष दुई नेताले कांग्रेस बरिष्ठ नेता पौडेललाई भेटेका हुन्।
नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आफूनिकट नेताहरुसँगको छलफल चलिरहेका बेला प्रचण्ड नेपाल महत्वपूर्ण बैठकमा जानुपर्ने भन्दै निस्किएका थिए । सोही समयमा कांग्रेस नेता पौडेल उखु किसानको आन्दोलनमा समर्थन जनाउन माइतीघरमा थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन स्थायी कमिटीको सर्वसम्मत निर्णय र दुई अध्यक्षबीचको सहमतिपछि पनि आनाकानी गरेपछि प्रचण्ड नेपाल समूह थप सशंकित बनेका छन् । प्रधानमन्त्री ओलीले फेरि अरु अध्यादेश ल्याउन सक्ने वा अन्य राजनीतिक दुर्घटना निम्त्याउन सक्ने आशंका प्रचण्डपक्षको छ ।
प्रचण्ड नेपाल समूहले पार्टी विभाजन हुन सक्ने सम्भावनाबारे पनि पौडेलसँग कुरा गर्दै सम्भावित सत्ता सहकार्यमा कांग्रेसको समर्थन खोजेको कांग्रेसका एक नेताले बताए । ती नेताका अनुसार प्रचण्ड–नेपालले नेकपाभित्रको विवाद पेचिलो बन्दै गएको र प्रधानमन्त्री ओलीले पार्टी निर्णयको अटेर गर्दै अध्यादेश फिर्ता नलिएको अवस्थामा आगामी राजनीतिबारे अन्योलता प्रकट गरेका थिए ।
उनीहरुले कांग्रेसको भूमिका कस्तो हुन्छ भन्नेबारे पौडेलसँग चासो व्यक्त गरेका थिए । प्रचण्ड–नेपाल र पौडेल भेटबारे आफूहरुले चर्चा सुनेपछि औपचारिक कुनै जानकारी नआएको कांग्रेस सभापति देउवानिकटस्रोतले बतायो । कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीचको निरन्तरको भेटघाटले कांग्रेसको भूमिका के हुन्छ भन्नेबारे प्रचण्डसमूह सशंकित छ ।अन्नपूर्णबाट































प्रतिक्रिया