तातोपानी नाकाबाट सामग्री आयात हुन थाल्यो

तातोपानी नाकाबाट सामग्री आयात हुन थाल्यो

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,

एक महिना अघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामाग्री नेपाल भित्रन थालेका छन् । पछिल्लो एक साताबाट सुरु आयात कारोवार बिस्तारै बढ्दै गएको छ ।

२०७२ वैशाख १२ को बिनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिक रुपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुख्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोवार हुन सकेको थिएन ।

‘चीनबाट सामग्री भित्रन थालेका छन्’, भन्सार अधिकृत केशवराज ओलीले भने । भन्सारले कारोवार सुरु गरे यता बिस्तारै आयात बढ्दै गएको उनले बताए । ओलीका अनुसार यसबीचमा १० कन्टेर सामग्री भन्सार जाँचपास भई राजधानी भित्रिसकेका छन् । सुख्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेर सामग्री जाँचपासको पर्खाइमा छन् । मंगलबार मात्र दुई कन्टेनर सामाग्री चीनबाट तातोपानी भित्रिएका छन् ।

दैनिक औसत एक–दुई कन्टेनर चिनियाँ सामाग्री भित्रन थालेको भन्सार अधिकृत ओलीले बताए । ‘तातोपानी नाका व्यापारिक कारोवारसहित सञ्चालनमा आएको सन्देश गइरहेको छ’, उनले भने, ‘क्रमिक रुपमा व्यापार बढ्दै जाने विश्वास लिएका छौं ।’ चालू अवस्थामा रहँदा पनि असार–साउन तातोपानी भन्सारको ‘अफसिजन’ मानिन्छ । साउन–भदौमा व्यापारीले दसैंँ, तिहार जस्ता चाडबाड लक्षित सागम्री अर्डर गर्छन् । त्यतिबेला नाकाको कारोवार झण्डै–झण्डै पूर्ववत् अवस्थामा फर्कँन सक्ने भन्सार अधिकारी र व्यापारी औँल्याउँछन् ।

नागरिकबाट

Logo