दोहा कतार ।
कतारका संस्थापक शेख जासिम बिन मोहम्मद बिन अल थानी हुन् । शेख जासिमले शासनभार सम्हालेको दिन डिसेम्बर १८ सन् १८७८ लाई कतारको इतिहासमा स्वर्ण अक्षरले लेखिएको ऐतिहासिक दिन मानिन्छ । यसैको सम्झनामा कतारमा हरेक वर्ष राष्ट्रिय दिवस मनाउने गरिएको छ।

विश्वको धनी देश कतारले आफ्नो १४२ औं राष्ट्रिय दिवस भव्यताका साथ मनाएको छ । दोहाको मुटुमा रहेको कर्नेचमा सिमित आमन्त्रित अतिथिहरू तथा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको समुपस्थितमा शुक्रवार बिहान विभिन्न सुरक्षा विभागका अघिकारीहरुले कला कौशलताको प्रर्दशनी गरेका छन् । प्याराग्लाईडिङ, परेड तथा विभिन्न किसिमका प्रर्दशनी गरिएको थियो भने राति आतिसबाजी गरिएको थियो ।

राष्ट्रिय दिवसको अवसर पारेर फिफा वर्ल्डकप २०२२ का लागि तयार गरिएको रैयान फुटबल स्टेडियमको समेत उद्घाटन गरिएको छ भने अमिर कप (फुटबल) को फाइनल खेल समेत सोही स्टेडियममा खेलाइएको छ । ४० हजार दर्शक अट्ने क्षमता छ । फाईनल खेलमा अल अरबी क्लबलाई १ का विरुद्ध २ गोलले हराउँदै अलसाद क्लब विजयी भएको छ । योसँगै अलसादले १७ औं पटक अमिर कप उचालेको छ ।

कतारी नरेश शेख तमीम बिन हमद अल थानीले राष्ट्रिय दिवसको अवसरमा विभिन्न अभियोगमा कैदी जीवन बिताइरहेका १६ जना कैदीहरुलाई आममाफी समेत दिएका छन् । साथै अमिरले कतारका सम्पूर्ण बासिन्दा तथा आप्रवासी नागरिकलाई शुभकामना सन्देश समेत दिएका छन् । तत्कालीन उत्तराधिकारी एवम् युवराज तथा हालका कतारी अमिरको आदेश अनुसार २१ जुन २००७ बाट १८ डिसेम्बरमा राष्ट्रिय दिवसको रूपमा सार्वजनिक बिदा दिन थालिएको हो । संयुक्त राष्ट्र सङ्घले सन् १९७१ मा मात्रै कतारलाई अलग्गै स्वतन्त्र देशको मान्यता दिएको हो ।





























प्रतिक्रिया