भोजपुर काण्ड: संसदीय समितिमा आइजिपी सर्वेन्द्र खनालको वयान

भोजपुर काण्ड: संसदीय समितिमा आइजिपी सर्वेन्द्र खनालको वयान

केन्द्रबिन्दु
0
Shares

भोजपुरमा भएको गोलीकाण्डबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराएका छन् ।

बुधबार बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेका थिए ।

महानिरीक्षक खनालले भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेको बताए । गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको बताउंदै महानिरीक्षक खनालले भने, “प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो ।”

खनालले प्रहरी जवान थमनाथ भट्टराईको काँधमा समेत गोली लागेको समेत जानकारी दिए । सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि उनले बताए ।

घटनामा अन्य दुई जना प्रहरी जवानसमेत घाइते भएको र उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको उनले जानकारी दिए।

Logo